काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दुवै सदनको बैठकमा विभिन्न विधेयक, समितिको प्रतिवेदन तथा सरकारी पत्रको व्यहोरा पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव पनि सभासमक्ष पेस हुने सम्भावना छ ।
यता, राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गरिनेछ ।
विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले उक्त प्रतिवेदन पेस गर्ने कार्यसूची छ । साथै, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने छन् ।






