काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
संस्थाले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनाएको छ ।
विपद्को सुरुवातदेखि नै नाइमा अन्तर्गतका सदस्य कम्पनीहरूले आर्थिक सहयोग, यातायात तथा लजिस्टिक व्यवस्थापनलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान पुर्याउँदै आएको संस्थाले जनाएको छ । नाइमाले आफ्ना सदस्य संस्थाहरूले विपद्को समयमा देखाएको सहयोग र सक्रियताको प्रशंसा पनि गरेको छ ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले संस्थाले स्थापनाकालदेखि नै विभिन्न विपद् तथा आपतकालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई सहयोग गर्दै आएको बताइन ।
“यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो । यस विपद्मा सहयोग र सहकार्यका लागि तत्परता देखाउनु भएका हाम्रा सम्पूर्ण सदस्य कम्पनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,” अध्यक्ष सिंहले भनिन ।
सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्रै राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन सकिने पनि सिंहको भनाई छ ।
खोज, उद्धार तथा राहत कार्यमा खटिरहेका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा विभिन्न संघ–संस्थाप्रति नाइमाले उच्च सम्मान व्यक्त गरेको छ ।
संस्थाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार बाढी प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न पनि आग्रह गरेको छ ।







