चितवन । पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दो रहेको छ । गएको तीन आर्थिक वर्षमा बिरामीको सङ्ख्या निरन्तर बढ्दै आएको हो ।
गत आवमा यस अस्पतालको बहिरङ सेवामा मात्र तीन लाख १७ हजार २६६ जना बिरामीले सेवा लिएका छन् । अस्पतालको तथ्याङ्कअनुसार आव २०८१/८२ मा दुई लाख ९६ हजार ५३८ जना र आव २०८०/८१ मा दुई लाख ४५ हजार ६९४ जनाले बहिरङ सेवाबाट उपचार लिएका थिए ।
यहाँ दैनिक एक हजार २०० ले बहिरङ सेवाबाट उपचार लिने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक पुष्पराज आचार्यले जानकारी दिए । उनका अनुसार यस अस्पतालले अहिले बहिरङ सेवाबाट २० प्रकारका उपचार सेवा दिँदै आएको छ ।
अस्पतालमा आउने बिरामीमध्ये ८५ प्रतिशत बिरामी स्वास्थ्य बिमाका रहेका छन् । उनका अनुसार गत आवमा दुई लाख ९५ हजार ४९ जनाले स्वास्थ्य बिमाबाट सेवा लिएका छन् । अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने बिरामीको चाप पनि बढ्दै गएको छ ।
आकस्मिक कक्षमा आव २०८०/८१ मा १८ हजार १०७ जनाले सेवा लिएकामा आव २०८१/८२ मा २३ हजार ४६० र गत आवमा २७ हजार ६६ जनाले सेवा लिएको आचार्यले बताए ।
उनका अनुसार आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीमध्ये आव २०८०/८१ मा तीन हजार ९८० जना, आव २०८१/८२ मा चार हजार ५२० जना र गत आवमा चार हजार ६८५ जनाले भर्ना भएर सेवा लिएका छन् ।
यस अस्पतालमा प्रसूति सेवा लिने बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । अस्पतालका अनुसार आव २०८०/८१ मा ७५५ जना, आव २०८१/८२ मा ७५२ जना र गत आवमा ९२५ जनाले प्रसूति सेवा लिएका छन् । अस्पतालमा प्रसूति सेवा सुरु भएपछि यस क्षेत्रका प्रसूति गराउने महिलालाई भरतपुर अस्पतालसम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यस अस्पतालमा आएका बिरामीको गत आवमा एक हजार २७१ जनाको गम्भीर शल्यक्रिया गरिएको छ । जुन सङ्ख्या आव २०८१/८२ मा एक हजार ३४ र आव २०८०/८१ मा एक हजार १८० जनाको गम्भीर शल्यक्रिया गरिएको थियो ।
प्रादेशिक अस्पतालका रुपमा रहेको यस अस्पतालमा बिरामीको चाप बढ्दै गएको हो । अस्पतालले दिने विशेषज्ञ सेवासहितका अन्य सेवाले गर्दा यस क्षेत्रको जनताको विश्वास बढ्दै गएको उनले बताए । अस्पतालमा मुख्य रुपमा रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाबाट धेरै बिरामी आउने गर्दछन् । रासस







