Khabar Out
तरकारी खेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

दाङ ।  तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारीखेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो । सिँचाइका लागि पानीको सहज उपलब्धता छँदै थियो । मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले तरकारी खेती गर्न थालेको भने धेरै लामो समय भएको छैन ।

उचित सिँचाइ, मलिलो माटो भए पनि तरकारी खेती गर्नुपर्छ भन्ने कुरा धेरैपछि मात्रै थाहा भयो । जब त्यहाँ सरकारी निकाय तथा विभिन्न सङ्घसंस्थाले तरकारीखेतीका लागि प्रशिक्षण दिए, त्यसपछि व्यावसायिक रूपमा खेती सुरु भएको स्थानीय यज्ञ खत्री स्मरण गर्छन् ।

“बस्ती बसेको लामो समय भयो, तर तरकारी खेती हुँदैनथ्यो”, उनले भने, “घरायसी प्रयोजनका लागिमात्रै खेती गरिन्थ्यो । अहिले भने अधिकांशले व्यावसायिक खेती गर्न थाल्नुभएको छ ।”

आफूले पनि अहिले डेढ बिघामा तरकारी खेती गर्ने गरेको उहाँले बताउनुभयो । यहाँका स्थानीयले पक्की घरसमेत बनाउन थालेको उनको भनाइ छ । “पहिले दैनिकी चलाउन नै समस्या हुन्थ्यो, के खाने, के लाउने हुन्थ्यो”, उनले भने, “अहिले तरकारी बेचेरै भएको आम्दानीले धेरैले घर निर्माण गरेका छन्, बच्चा बच्चीलाई सहजै पढाउन सकिएको छ ।” स्थानीय किसानले तरकारी बेचेर आर्थिक उपार्जन गरेका छन् । फुसका घरमा बस्दै आएकाले पनि पक्की घर बनाएको उनको भनाइ छ ।

अर्का स्थानीय किसान दीपक चौधरी सात कट्ठामा तरकारी खेती गर्छन् । उनले त्यसबाट वार्षिक रु चार लाख बढी आम्दानी गर्छन् । “मैले तरकारी खेती गर्न थालेको १२ वर्ष भयो”, उनले भने, “राम्रो आम्दानी गर्दै आएको छु ।”

हिउँदे सिजनमा भने उनले १७ कट्ठाभन्दा बढीमा काउली, बन्दा, लौका, करेला, आलुलगायत उत्पादन गर्छन् । खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाउन, छोराछोरीलाई राम्रो विद्यालय पढाउन सहज भएको उनको भनाइ छ ।

त्यस्तै सोही ठाउँका किसान जुगराम चौधरीले पनि काउली, आलु, टमाटर, बोडी, लौकाको व्यवसाय गर्दै आएका छन् । उनले एक बिघाभन्दा बढी क्षेत्रमा तरकारी खेती गरेको सुनाए । त्यसबाट वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।

त्यो कमाइले आफ्नो दैनिकी फेरिएको उनको भनाइ छ । अहिले मोतिपुरका अधिकांश किसान यसरी नै तरकारीखेतीमा व्यस्त छन् । स्थानीय उत्पादनको बजारीकरण पनि राम्रो भएकाले किसान हर्षित छन् । तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखा, सिड संस्थालगायतले तरकारीखेतीका लागि प्रोत्साहन गर्दै आएका छन् ।

किसानलाई टनेल, पावर टिलर उपलब्ध भएको छ । बीउ बैंक सञ्चालन भएको छ । त्यसबाट किसान उत्प्रेरित भएको स्थानीय जगुराम चौधरीले जानकारी दिए । रासस

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update