कास्की । गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत कास्कीका किसानलाई रु दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ४४ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएकामा लक्ष्यअनुसारनै उत्पादन भएको थियो ।
उक्त परिमाणमा दूध उत्पादन गरेबापत किसानलाई प्रतिलिटर रु पाँचका दरले सहकारी संस्थामार्फत प्रोत्साहन सहयोग उपलब्ध गराइएको कार्यालयका प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए । उनका अनुसार दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु दुई करोड २० लाख बजेट विनियोजन गरिएकामा विनियोजित सम्पूर्ण रकम खर्च भई वित्तीय सतप्रतिशत हासिल भएको छ ।
“कार्यक्रमको मुख्य उद्देश्य किसानलाई दूध उत्पादन तथा औपचारिक बजारमा आबद्ध हुन प्रोत्साहित गर्नु हो । यसबाट सरकारले प्रदान गर्ने अनुदान कृषकले प्रत्यक्ष रूपमा प्राप्त गरेका छन् । उत्पादनका आधारमा प्रदान गरिएको अनुदानले व्यावसायिक पशुपालनमा सहयोग पुगेको छ”, कार्यालय प्रमुख न्यौपानेले भने ।
कास्कीमा २७ वटा दूध सङ्कलन संस्था/केन्द्रमार्फत वार्षिक ६९ लाख २३ हजार ७०० लिटर दूध सङ्कलन भएको विवरणमा उल्लेख छ । साथै आठ हजार ५० जना किसान दूध सङ्कलन प्रणालीमा आबद्ध रहेका कार्यालयले जनाएको छ । कार्यालयले दूध उत्पादन बढाउन किसानलाई प्रतिलिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई औपचारिक बजारसँग जोड्न सहयोग पुगेको जनाएको छ ।
उत्पादनमा आधारित अनुदानसँगै पाडीबाच्छी हुर्काउने प्रोत्साहन कार्यक्रमलाई पनि पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा अघि बढाइएको छ । यसैगरी पाडीबाच्छी हुर्काउने प्रोत्साहन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष ३५० वटाको लक्ष्य राखिएकोमा ४५४ वटा पाडीबाच्छी हुर्काइएको थियो । यस कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन भएको थियो ।
कार्यालयका प्रमुख डा.न्यौपानेका अनुसार यस कार्यक्रमबाट यस वर्ष करिब १२ लाख लिटर अतिरिक्त दूध उत्पादन हुने अपेक्षा गरिएको छ । करिब ९९ कोरली पाडी र ३५५ कोरली बाच्छी हुर्किइ माउ बन्न योग्य भएका उनले जानकारी दिए । कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ मा पनि दूध उत्पादन प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिएको छ ।
जिल्लामा गाई तथा भैँसीपालनमा आबद्ध परिवारको सङ्ख्या उल्लेख्य रहेको र दूध उत्पादन पशुपालन क्षेत्रको प्रमुख व्यवसायका रूपमा रहेकाले किसानलाई प्रोत्साहन गरी दूध उत्पादनमा आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको प्रमुख न्यौपानेले बताए । जिल्लामा पशुपालन गर्ने परिवारको सङ्ख्या ५२ हजार ३२३ रहेका कार्यालयका सूचना अधिकारी सहदेव पौडेलले जानकारी दिए । रासस







