गुल्मी । उखुको रसबाट गुड र खुदोका साथै हरियो डाँठबाट गुड र खुदो उत्पादनको सफल परीक्षण गरिएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले आज पहिलोपटक मकैको डाँठबाट रस निकालेर खुदो बनाउने प्रविधिको परीक्षण गरेको हो ।
रेसुङ्गा–३ स्थित भाँडागाउँमा इन्टरनेसनल एसोसिएसन अफ एग्रीकल्चरल स्टुडेन्ट्स (आइएएएस)को सहजीकरणमा स्थानीय जातको मकै र सिपी मकैको डाँठ प्रयोग गरी रस निकालेर गुड तथा खुदो उत्पादनको परीक्षण गरिएको नगरपालिकाले जनाएको छ।
परीक्षणका क्रममा मकैको डाँठबाट निकालिएको रसबाट तयार गरिएको खुदो उखुबाट बनेको खुदोजस्तै देखिने र खाँदा पनि स्वादिष्ट रहेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँका अनुसार परीक्षण सफल भएपछि उत्पादित खुदोको गुणस्तर तथा खाद्य सुरक्षासम्बन्धी परीक्षणका लागि खाद्य विभागअन्तर्गत प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी गरिएको छ ।
उक्त प्रयोगशालाको परीक्षणबाट खानाका लागि उपयुक्त छ भन्ने सकारात्मक नतिजा आएमा मकैको डाँठबाट खुदो र गुड उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाइने नगरप्रमुख पन्थीले बताए । उनले अहिले प्रारम्भिक रूपमा परीक्षणमात्रै गरिएको उल्लेख गर्दै प्रयोगशालाको रिपोर्टका आधारमा आगामी कार्यक्रम तय गरिने जानकारी दिए ।
नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा नवप्रवर्तन तथा उद्यमशीलता कार्यक्रमअन्तर्गत यस्ता कार्यक्रमलाई अघि बढाउन लागिएको नगरप्रमुख पन्थीको भनाइ छ । “प्रयोगशाला परीक्षणबाट गुणस्तरीय छ भन्ने जानकारी आएपछि यसलाई व्यावसायिक रूपमा अगाडि बढाउनका लागि नगरबाट आवश्यक उपकरण उपलब्ध गराउँछौँ”, उनले भने ।
विश्वभरका कृषि तथा वातावरण विषयका विद्यार्थीलाई जोड्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएएएसअन्तर्गत नेपाल शाखा भैरहवाका परियोजना उपाध्यक्ष निर्मला सुवेदीले स्थानीय विद्यार्थीको सहयोग तथा समन्वयमा मकैको डाँठबाट कम चिनी भएको गुड तथा खुदो उत्पादनको सफल परीक्षण गरिएको बताए ।
गाउँघरमा मकै पाकेपछि त्यत्तिकै खेर गइरहेका डाँठलाई उपयोग गरेर आम्दानीको स्रोत बनाउनका लागि यो प्रविधि निकै उपयोगी हुने रेसुङ्गा(३ का वडाध्यक्ष बाबुराम खत्रीले बताए । मकैको डाँठबाट पनि यसरी खुदो र गुड उत्पादन भएको देखेपछि स्थानीय उत्साहित भएका उनको भनाइ छ ।







