काठमाडौं । नेपाली चलचित्र ‘गौँथली’ले बक्स अफिसमा नयाँ सफलता हासिल गरेको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले सोमबारसम्म २० करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थान सुरक्षित गरेको हो ।
अहिलेसम्म चलचित्रलाई ७ लाख २९ हजारभन्दा बढी दर्शकले हेरेका छन् । उत्कृष्ट व्यापार गर्दै आएको ‘गौँथली’ले सोमबार समीर भट्ट अभिनित चलचित्र ‘१२ गाउँ’को कुल ग्रस कलेक्सनलाई समेत उछिन्दै नयाँ कीर्तिमान बनाएको हो ।
हाल नेपाली बक्स अफिसमा ‘गौँथली’भन्दा बढी कमाइ गर्ने चलचित्रमा ‘पूर्णबहादुरको सारंगी’ र ‘कबड्डी ४’ मात्र रहेका छन् । प्रदर्शनको चौथो सातासम्म पनि दर्शकको आकर्षण कायम रहेकाले चलचित्रको व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली तथा सीतादेवी तिमिल्सिनाको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा.भोला रिजालको कथामा आधारित चलचित्रको निर्देशन डा. कपिल रिजालले गरेका हुन् । चलचित्रको पटकथा तथा संवाद लेखनमा कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ ।
दर्शकको सकारात्मक प्रतिक्रिया र उत्साहजनक व्यापारका कारण ‘गौँथली’ नेपाली चलचित्र उद्योगको पछिल्लो समयको सबैभन्दा सफल चलचित्रमध्ये एक बन्न सफल भएको छ।







