Khabar Out
मधेसमा ९५ प्रतिशत रोपाइँ

जनकपुरधाम । मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार आजसम्म प्रदेशभर तीन लाख ६५ हजार २९१ दशमलव १५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

प्रदेशका आठ जिल्लामध्ये सिरहा र बारामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने प्रदेश कृषि विकास निर्देशनालयका बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए । उनका अनुसार बारामा लक्ष्यभन्दा बढी रोपाइँ भएको छ ।

बारामा ४५ हजार १०० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य लिइएकामा यस वर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको अधिकृत विश्वकर्माले बताए । उनका अनुसार सप्तरीमा ९१ दशमलव २५ प्रतिशत, धनुषामा ९० प्रतिशत रोपाइँ भएको छ । जिल्लामा ४३ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने लक्ष्य रहेकामा हालसम्म ३९ हजार ३३० हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

सर्लाहीमा ९९, रौतहटमा ९८, पर्सामा ९१, महोत्तरीमा ८१ दशमलव ६८ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ। मधेस प्रदेशमा कूल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको छ । अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण यस वर्ष रोपाइँ सन्तोषजनक भएको अधिकृत विश्वकर्माले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update