Khabar Out
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन

काठमाडौँ । मुलुकको श्रम तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा ‘चौथो नेपाल श्रमशक्ति सर्वेक्षण’ गरिरहेको छ । कार्यालयले कुल श्रमशक्ति, रोजगारीको अवस्था, श्रमको प्रकार, श्रमबजारको अवस्था पत्ता लगाउन उक्त सर्वेक्षण सुरु गरिएको जनाएको छ ।

मौसमी रोजगारीमा आउने उतारचढाव तथा त्यसले पार्ने प्रभावलाई अध्ययन गर्न गत फागुनदेखि तथ्याङ्क सङ्कलन भइरहेको कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले जानकारी दिए । आगामी फागुनसम्म नै सर्वेक्षण हुनेछ । श्रम गर्ने उमेर समूहका जनसङ्ख्यालाई यसमा समेटिनेछ ।

देशभर रोजगारी र बेरोजगारीको यथार्थ अवस्था पत्ता लगाउन, श्रमको प्रकृति, शिक्षा र सीपको स्तर मापन गर्ने र बालश्रम, बाध्यकारी श्रम एवं जोखिमयुक्त कामको अवस्थाबारे विस्तृत तथ्याङ्क सङ्कलन गरिनेछ ।

सातवटै प्रदेशका करिब १८ हजार घरपरिवारमा गणक पुगेर तथ्याङ्क सङ्कलन गर्ने कार्यक्रम तय भएको छ । नेपालमा पहिलोपटक २०५५/५६ सालमा, दोस्रोपटक २०६४/६५ र तेस्रोपटक २०७४/७५ सालमा यस्तो सर्वेक्षण गरिएको थियो । रासस

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update