महोत्तरी । गौशालास्थित सात विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि यहाँका अभिभावकलगायत विद्यार्थीको पहिलो रोजाइ नै सामुदायिक विद्यालय बन्दै गएको छ ।
गौशाला नगरपालिकामा ३२ सार्वजनिक विद्यालय छन् । पहिलो चरणमा पाँच विद्यालयमा अङ्ग्रेजीमा पढाइ सुरु गरिएको हो । यहाँ कक्षा १ देखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेका कारण विद्यार्थीका बाबुआमा र छात्रछात्राको चाहना नै समुदायस्तरीय पाठशालामा पढ्ने रहेको छ ।
त्रिभुवन मावि गौशाला र जनता मावि भरतपुरखोरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म, श्री मावि निगौलमा कक्षा ४ सम्म, जनता मावि रजखोरमा कक्षा ५ सम्म, श्री राष्ट्रिय मावि कान्तिवजारमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको छ ।
पूर्वशिक्षक भरतसिंहले भने, “कुनै समय अभिभावकको पहिलो रोजाइ निजी विद्यालय बन्ने गरेकोमा हाल सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि अभिभावकको शिक्षामा लगानी बचत भएको छ ।”
जनता मावि रजखोरका प्रधानाध्यापक अमोदकुमार साहले अभिभावकको इच्छाअनुसार विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको बताए । उनले गौशाला नगरपालिकाले शिक्षामा एकरुपता ल्याउनुपर्ने बताए ।
नगरपालिकाले सामुदायिक विद्यालयमा अनिवार्य अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन आएको निर्देशनअनुरुप सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउन सुरु गरेको शिक्षा समितिका सदस्य जीतेन्द्रकुमार सिंहले बताए ।
श्री मावि निगौलका प्रधानाध्यापक सिंहले नगरपालिकाबाट जारी गरिएको निर्देशनअनुरुप यहाँका सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन दिन थालेपछि पछिल्लो समयमा सार्वजनिक पाठशालाको चर्चा चुलिएको बताए ।
दरबन्दी मिलान, विद्यालय व्यवस्थापन समितिको सहयोगात्मक भूमिकालगायतका प्राविधिक पक्षलाई सम्बोधन गर्दै अङ्ग्रेजी माध्यमको पढाइलाई अभियानका रूपमा नगरपालिकाले नीति बनाएरै अगाडि बढ्ने नगर शिक्षा अधिकृत सञ्जयकुमार सिंहले जानकारी दिए ।
गौशाला नगरपालिकाका नगरप्रमुख डा. दीपेन्द्र महतोले शैक्षिक गुणस्तर प्रदान गर्नका लागि स्थानीय पालिकाले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको जानकारी दिए । उनले विद्यालयमा तालिमप्राप्त शिक्षक, अत्यावश्यक पूर्वाधार, पाठ्यपुस्तकलगायत आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदै अघि बढेको बताए । रासस






