बागलुङ। बागलुङ नगरपालिका–६ मा लहरेपिपल स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको छ। वर्षौँ पुरानो जीर्ण भवनबाट सेवाप्रवाह गर्दा असहज भएपछि नयाँ भवन निर्माण गरिएको हो।
चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको ७४ लाख रुपैयाँ र स्थानीयको ५ लाख रुपैयाँ बराबरको जनश्रमदान गरी कुल ७९ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिएका छन्। गत वैशाख पहिलो साता निर्माण समितिसँग सम्झौता गरी काम सुरु भएकामा छोटो समयमै भवन निर्माण सम्पन्न भएको हो।
निर्माण समितिमार्फत काम गर्दा करिब दुई महिना २१ दिनमा भवन तयार भएको वडाध्यक्ष केसीले बताए। स्थानीयले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि यो भवन निर्माण सम्भव भएको हो। उक्त भवनमा आकस्मिक कक्ष, ओपिडी, परिवार नियोजन तथा मातृशिशु सेवा कक्ष, स्वास्थ्यकर्मी कक्ष र भान्सा कोठा बनाइएको छ।
वडाध्यक्ष केसीले भने, ‘भवन जीर्ण हुँदा सेवाप्रवाहमा केही समस्या भएको थियो, अब समस्या समाधान भएको छ। स्थानीय समितिमार्फत काम गर्दा समयमै काम सकियो। अब यहाँका नागरिकलाई गुणस्तरीय सेवा दिन प्रयास गर्नेछौँ। भवन व्यवस्थित भएको हुँदा अब सेवालाई पनि व्यवस्थित बनाउनुपर्ने छ।’
स्वास्थ्यचौकी प्रमुख विश्वनाथ शर्माले अब यहाँबाट पहिले दिँदै आएको सेवासहित प्रसूति सेवा पनि सञ्चालन गरिने बताएका छन्। पहिले भवन अभावका कारण प्रसूति सेवा उपलब्ध गराउन नसकिएको उनको भनाइ छ। भवन निर्माणपछि त्यसको संरक्षणका लागि तारबार समेत गरिएको छ।
पहिले स्वास्थ्यचौकीले नियमित खोप सेवा सञ्चालन गर्दै आए पनि भवन अभावमा खोप सुरक्षित राख्न नसकेपछि बागलुङ बजार पठाउनुपर्ने बाध्यता रहेको सुनाउँदै अब स्वास्थ्यचौकीमै राख्न सकिने प्रमुख शर्माले बताए। उनले भने, ‘स्वास्थ्यचौकीको नयाँ भवन बनेपछि यहाँबाट दिने सेवा पनि थप प्रभावकारी बन्नेछन्। अहिलेसम्म खोप पनि सुरक्षित राख्न सकिने अवस्था थिएन, अब त्यो समस्या हटेको छ। नयाँ भवनमा विद्युत् सेवा सहज भएको छ। अब डिपफ्रिज राखेर औषधि भण्डारण गर्न सकिनेछ भने बिरामीलाई समयमै उपचार गर्न सकिनेछ ।’ रासस







