स्याङ्जा । स्याङ्जाका उत्कृष्ट ४ कृषकलाई सोमबार सम्मान गरिएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले २३औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि क्षेत्रमा उत्कृष्ट र उदाहरणीय कार्य गर्दै आएका चार जनालाई सम्मान गरेको हो ।
कृषिलाई आम्दानीको मुख्य स्रोत बनाएका कृषकमध्ये जिल्लाभरिबाट यस वर्ष ४ जना कृषक सम्मानित भएको कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायणप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका पुतलीबजार नगरपालिका–७ का रामकाजी राना र भीरकोट नगरपालिका–७ का शालिकराम अर्याल सम्मानित भएका हुन् ।
त्यस्तै, व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका वालिङ नगरपालिका–६ लालुपातेका रेशमलाल रेग्मी र व्यावसायिक रूपमा भैँसीपालन गर्दै आएका भीरकोट–६ का शिव खत्री क्षेत्री सम्मानित भएका हुन् ।
कृषिलाई मुख्य आम्दानीको स्रोतका रूपमा अगाडि बढाएका, कृषिमा नवीनतम सोचको प्रयोग गरेका, प्रविधिको प्रयोगमा जोड दिएका, कृषिजन्य वस्तुको उत्पादन, बजारीकरण, क्षेत्रफल, आम्दानीलगायत मापदण्डका आधारमा मूल्याङ्कन गरी छनोट गरिएको कृषि अर्थविज्ञ पाठकले बताए ।
“जिल्ला कृषि विकास कार्यालयले बर्सेनि विभिन्न विधाका उत्कृष्ट कृषकलाई सम्मान गर्दै आएको छ”, उनले भने, “कृषकलाई कृषि पेसातर्फ थप आकर्षित गर्न र व्यावसायिक अभिवृद्धि गर्दै प्रोत्साहन गर्नका लागि सम्मान गर्ने गरिएको हो ।”
जिल्ला कृषि विकास कार्यालयले सम्मानका लागि कृषकसँग आवेदन माग गर्दछ । यस वर्ष विभिन्न विधाका १३ जना व्यावसायिक कृषकले आवेदन दिनुभएको थियो । यस वर्ष कृषिजन्य वस्तुको उत्पादनभन्दा पशुपन्छी पालन गर्दै आएका कृषकको कम आवेदन परेको थियो । कार्यालयले कृषकलाई जनही रु १० हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । रासस







