Khabar Out
धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ : मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबिचको सहकार्य अपरिहार्य रहेको बताएकी छिन्।

मन्त्री चौधरीले २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै धान नेपालीको धर्म, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण बाली भएको बताइन्।

उनले स्थानीय तथा जङ्गली धानका जातको संरक्षण, संवर्द्धन र उपयोगले जैविक विविधता, जलवायु सहनशीलता तथा दीर्घकालीन खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याइने बताइन्।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने यस वर्षको धान दिवसको नाराले वर्तमान कृषि क्षेत्रको आवश्यकता र चुनौतीलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

मन्त्री चौधरीले चामलको आयात घटाउन वर्षे र चैते धानको क्षेत्रफल विस्तार, उन्नत जातको विकास, प्रविधि हस्तान्तरण, सिँचाइ सुविधा विस्तार, उत्पादन सामग्रीमा सहज पहुँच तथा मूल्य सुनिश्चिततालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

उनले स्थानीय तथा जङ्गली धानका जातको पहिचान, सङ्कलन, संरक्षण र जलवायुमैत्री जात विकासमा विशेष जोड दिनुपर्ने बताइन् । रासस

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update