Khabar Out
सिँचाई सुविधापछि धानखेतमा कोदो रोप्नुपर्ने बाध्यता हट्यो

म्याग्दी । विगतमा धुलोमा धानको ब्याड राखेर बिरुवा उमार्ने म्याग्दीको मालिका गाउँपालिका–७ डाडागाउँका किसान नारायण पाइजाले यसपाली पानीबीउ राखे।

डाडाँगाउ नजिकैको देउराली स्थित खेतमा पाइजाले यसपाली असार महिनामै धान रोपाइँँको तयारी गरेका छन्। “सिँचाइको सुविधा नभएकाले धान खेतलाई बाँझो बस्न नदिन केही बर्ष कोदो पनि रोप्नुपरेको थियो,” उनले भने, “यसपाली सिँचाई आयोजना निर्माण भएपछि जेठमै पानीमा ब्याड राखेर असारमै धान रोप्ने तयारी गरेको छु ।”

डाडाँगाउँका अर्का किसान पलप्रसाद जुग्जालीले मालिका गाउँपालिका मार्फत चालु आर्थिक वर्ष २०८२/०८३ मा निर्माण भएको चेनवाङ देउराली सिँचाई आयोजनाबाट पानी आपूर्ति हुन थालेपछि खेतीबालीमा सिँचाईका लागि सहज भएको बताए। “पानीको दुःखले खेतबारी बाँझै राख्नुपर्ने अवस्था थियो,” उनले भने, “सिचाई सुविधाले बर्षमा एकबाली मात्र खेती हुने देउरालीको खेतमा अबदेखि दुई/तीनबाली लगाउन सकिने भएको छ ।”

डाडागाउँका बासिन्दाहरुले हरेक वर्षको असार महिनाको १६ गते भूमे पुजा गरेपछि औपचारिक रुपमा रोपाइँँ सुरु गर्ने चलन छ । मालिका गाउँपालिकाले प्रदेश बिशेष अनुदानमा चेनवाङ देउराली सिचाई आयोजना निर्माण गरेको हो।

योजना निर्माणका लागि रु. ४० लाख बजेट बिनियोजन भएको थियो। आयोजनाबाट ५० घरपरिवार भन्दा धेरै घरपरिवार किसानको करिब एक सय ५० रोपनी जमिनमा सिचाई सुविधा विस्तार भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए।

सिँचाई सुविधा विस्तारसँगै किसानहरुलाई खाद्यबाली र सुन्तलाजात फलफुल खेती गर्ने किसानलाई प्रभावकारी भएको उनले बताए। कृषि बालीको उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरे।

चेनवाङ देउराली मालिका गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को प्राथमिकताप्राप्त आयोजना हो। योजना निर्माणका लागि वि.सं. २०८२ माघ महिनामा रु. २७ लाख ९७ हजार दुई सय ९५ मा ठेक्का सम्झौता गरेको थियो । यही असार १५ गतेसम्म ठेक्काको म्याद रहेकोमा निर्धारित समय अघिनै योजना सम्पन्न भएको मालिका गाउँपालिकाका सव इञ्जियिर मौसम ठाकुरले बताए।

चेनवाङको मुहानमा पानी संकलन गर्ने टंकी, छ वटा इन्टेक निर्माण, एक किलोमिटर आठ सय मिटर एचडिपी र तीन सय ६० मिटर जिआई पाईप मार्फत डाडागाउँ देउराली सम्मको खेतसम्म पानी आपूर्ति गरिएको छ । एक सय दश मिलिलिटर क्षमताको पाइप जडान भएको हो । रासस

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update