Khabar Out
कृषिलाई आकर्षक पेसा बनाएर युवाहरूको विदेश पलायन रोक्न सकिन्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको बताएका छन्। २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा सम्पूर्ण कृषकहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्। 

राष्ट्रपति पौडेलले कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न सके कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने उल्लेख गरे।

श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुन सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘जीवन धान्नका लागि मात्र कृषि पेसा होइन, अब व्यावसायिक कृषितर्फ लाग्न म सबैलाई आह्वान गर्दछु। यसका लागि सम्बन्धित निकायले त्यसतर्फ ध्यान देओस् भन्ने चाहन्छु।’ 

असार महिना मानो रोपेर मुरी फलाउने विशिष्ट समय भएको र नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट रहेको उनको भनाइ छ। हिलोसँग खेल्दै खेतभित्र धान रोप्ने र दही, चिउरा खाने चलनले यस दिनलाई अझ विशेष बनाउने उनले स्मरण गरे।

जलवायु परिवर्तनले धानखेतीमा पारेको नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई मागअनुसारको धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताए। नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको चर्चा गर्दै उनले कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्ने नीति संविधानमा रहेको स्पष्ट पारे। धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्त्व रहेको उनले बताए।

Asian Paints

नेपालको धानखेती वर्षामा निर्भर रहेको र वर्षा राम्रो नभएको वर्ष उत्पादन घट्ने गरेको सन्दर्भ उठाउँदै राष्ट्रपति पौडेलले भने, ‘धानखेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु।’ कृषिमा परनिर्भरता बढ्दै गएका कारण देशमै धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो।

Arghakhachi Cement

यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ।

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update