भोजपुर । भोजपुरको तेजिङ-हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माण सुरु भएसँगै स्थानीयवासीमा उत्साह थपिएको छ । साल्पासिलिछो गाउँपालिका-६ मा अवस्थित उक्त खोलामा निर्माण भइरहेको पुलको हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
वर्षौंदेखि जोखिमपूर्ण रूपमा खोला तर्दै आएका स्थानीयका लागि यो पुल दीर्घकालीन समाधानका रूपमा हेरिएको स्थानीय खगेन्द्र राईले बताए। उनका अनुसार विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा आवतजावत गर्न जोखिम हुने गरेको थियो। “पुल नहुँदा खाद्यान्न ढुवानीदेखि दैनिक आवतजावतसम्म समस्या थियो । अब पुल बनेपछि सहज हुने आशा गरेका छौँ”, उनले भने।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार कोशी प्रदेश सरकारको करिब रु चार करोड ९४ लाख ४५ हजार ४५६ लागतमा पुल निर्माण भइरहेको छ। हालसम्म पिलरसहित विभिन्न संरचनात्मक कामहरू सम्पन्न भइसकेका छन्।
एक स्पानमा निर्माण भइरहेको पुलको लम्बाइ ३५ मिटर रहनेछ भने फुटपाथसहित चौडाइ आठ दशमलव चार मिटर हुने उनले जानकारी दिए। ‘ओपन फाउन्डेसन प्रविधि’मा निर्माण भइरहेको उक्त पुलले साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने कार्यालय प्रमुख रेड्डीले विश्वास व्यक्त गरे।
यसअघि पुल अभावका कारण विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा गर्भवतीलाई आवागमनमा समस्या हुनाका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सास्ती हुँदै आएको थियो।
वर्षायाममा खोला तर्नै नसकिने अवस्था हुँदा दैनिक जीवन प्रभावित हुने गरेको स्थानीय डिल्लीराम बस्नेतले बताए। पुल निर्माण सम्पन्न भएपछि यहाँ उत्पादित कृषि उपजको सहज बजारीकरणसँगै व्यापार व्यवसायमा सहजता हुने उनले विश्वास व्यक्त गरे।
वि.सं. २०८२ असोजमा निर्माण सम्झौता भएको उक्त पुल विसं २०८४ असोजसम्म सम्पन्न गर्नेगरी समय निर्धारण गरिएको छ । पुल निर्माणको जिम्मा कोसेली-नौलाखा-जय गोविन्द जेभीले लिएको छ । रासस







