Khabar Out
उपाध्यक्ष पौडेल पक्राउप्रति एमालेको आपत्ति, ओलीद्वारा निन्दा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउप्रति घोर निन्दा तथा भर्त्सना गरेका छन् । सोमबार जारी वक्तव्यमा उनले सुर्खेतमा सांगठनिक कार्यक्रममा रहेका पौडेललाई सरकारले गैरकानुनी र ‘अपहरण शैलीमा’ पक्राउ गरेको आरोप लगाए ।

ओलीले उक्त कदमलाई विपक्षी दलमाथिको राजनीतिक प्रतिशोध र लोकतान्त्रिक मूल्यविपरीतको कार्य भएको बताएका छन् । उनले पौडेल काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यक्रम रहेकाले सामान्य कानुनी प्रक्रियामार्फत सोधपुछ गर्न सकिने अवस्था हुँदाहुँदै पक्राउ गरिएको दाबी गरे ।

एमालेले सरकार अधिनायकवादी र स्वेच्छाचारी बाटोतर्फ उन्मुख भएको आरोप लगाउँदै विपक्षी नेतामाथिका यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ । साथै, सरकारका कदमविरुद्ध लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान पनि गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update