झापा । मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गलको छेउका बासिन्दामा हात्तीको बथान र बाँदरको फौजले बाली सखाप पार्ला भन्ने चिन्ता सधैँ हुने गरेको छ । स्थानीय भूपेन्द्र तामाङलाई भने यो समस्याले सताउन छाडेको छ । पेसाले इन्जिनियर तामाङले वन्यजन्तुले क्षति पुर्याउन नसक्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती सुरु गरेपछि उनको यो प्रयास झापामा लोभलाग्दो कृषि क्रान्ति बनेको छ ।
इन्जिनियर तामाङले टुकु कृषि फार्म दर्ता गरी छ वर्षअघि दुई बिघा निजी जग्गामा ३०० वटा ‘मेकाडामिया नट्स’का बिरुवा रोपेका थिए । पोखरास्थित कृषि अनुसन्धान केन्द्रबाट प्रतिगोटा रु दुई सयका दरले बिरुवा खरिद गरेर ल्याएका उनले नेपालमा पहिलोपटक यति ठुलो क्षेत्रफलमा ‘मेकाडामिया नट्स’ को व्यावसायिक खेती सुरु गरेका हुन् ।
ओमेगा–१, ओमेगा–२ र ओमेगा–३ जस्ता पोषक तत्त्व प्रचुर मात्रामा पाइने भएकाले अन्तर्राष्ट्रिय बजारमा ‘मेकाडामिया नट्स’लाई महँगो फल मानिन्छ । जङ्गलको छेउमा खेतबारी भएकाले कुन बाली सुरक्षित होला भनी खोजी गर्ने क्रममा आफूले यसको बारेमा थाहा पाएको तामाङले बताए ।
“न बाँदरले टोकेर खान सक्छ, न हात्तीको सुँढले सोहोर्न सक्छ भन्ने थाहा पाएपछि पोखरा पुगेर बिरुवा ल्याएँ”, खेती सुरु गर्दाको अनुभव साझा गर्दै उनले भने, “यसको बोटको पातमा काँडा हुने र फल अत्यन्तै कडा हुने भएकाले वन्यजन्तुले यसलाई बिर्गान सक्दैनन् । पोथ्रे बोटमा झुप्पा बनेर फल्ने यो फल भदौमा पाक्ने गर्दछ, जसलाई चराचुरुङ्गीलेसमेत क्षति पुर्याउन सक्दैनन् ।”
इन्जिनियर तामाङ कार्यालय अवधिबाहेकको समय र बिदाका दिन फार्ममा व्यस्त रहने गर्दछन् । उनले आफ्नो पुराना सुपारी बगानभित्र खाली रहेको स्थान उपयोग गरी मेकाडामिया रोपेका हुन् । उनको फार्ममा सुपारीका अतिरिक्त एक किलोभन्दा बढी तौल हुने आँप, सावर सप, आल्मन्ड, नासपाती, अमेरिकन आरु, कालो आँप, एभोकाडो, ल्वाङ, सीताफललगायत दर्जन बढी प्रजातिका फलफूल हुर्किएका छन् ।
विभिन्न प्रजातिका फलफूल भए पनि उनले ‘मेकाडामिया नट्स’लाई प्राथमिकता दिएका छन् । गत वर्षदेखि सामान्य फल्न सुरु गरेको यो खेतीले यसपालि मनग्य उत्पादन दिएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशस्त निर्यातको सम्भावना रहेको यो फल नेपाली बजारमा प्रतिकिलो रु दुई हजारका दरले सजिलै बिक्री हुने उनले जानकारी दिए ।
‘मेकाडामिया नट्स’को एउटा बोटले ४० देखि ६० किलोसम्म फल दिने गर्दछ । केही समयअघिको असिनापानीले उत्पादनमा सामान्य क्षति पुर्याए पनि यस वर्ष फार्मबाट दुई हजार किलो फल उत्पादन हुने आङ्कलन गरिएको तामाङले जानकारी दिए । जसबाट चालु याममा मात्रै रु ४० लाख आम्दानी हुने उनको भनाइ छ । खेती सुरु गरेदेखि हालसम्म करिब रु १४ लाख लगानी भइसकेको जनाउँदै यस वर्ष मात्रै रु २५ लाखभन्दा बढी खुद मुनाफा हुने तामाङले दाबी गरे ।
कृषि ज्ञानकेन्द्र भद्रपुरका प्रमुख सागर विष्टका अनुसार झापामा अन्यत्र यसको व्यावसायिक खेती हालसम्म भएको जानकारी छैन । बुद्धशान्ति, अर्जुनधारालगायत केही पालिकामा शौखका लागि किसानले एकाध बोट रोपेको पाइए पनि तामाङले गरेको यो खेती सरकारी निकायका लागिसमेत चासो र अध्ययनको विषय बनेको उनले बताए ।
आफ्नो फार्म पूर्ण रूपमा प्राङ्गारिक (अर्ग्यानिक) रहेको दाबी गर्दै तामाङले भने, “बिरुवालाई रोग र कीराबाट जोगाउन कुनै पनि रासायनिक विषादी र मल प्रयोग गरिएको छैन । स्थानीय मलको प्रयोगबाट भविष्यमा अर्ग्यानिक ‘मेकाडामिया नट्स’को आफ्नै नेपाली ब्रान्डिङ गर्ने तयारी गरिरहेको छु ।” उनले जागिरबाट अवकाश पाएपछि पूर्ण रूपमा कृषि पेसामा समर्पित हुने योजनाका साथ फार्म विस्तार गरिरहेको सुनाए ।
“मूलतः अस्ट्रेलियाको जङ्गलमा उत्पत्ति भएको र ‘अस्ट्रेलियन नट्स’ समेत भनिने यो फल नेपालमा पहिलोपटक सन् १९६२ मा त्रिशूली फार्ममा भित्राइएको इतिहास छ । हाल नेपालको त्रिशूली फार्मसहित विभिन्न कृषि अनुसन्धान केन्द्र र पोखरा आसपासका क्षेत्रमा यसको खेती विस्तार भइरहेको छ”, तामाङले भने ।
‘मेकाडामिया नट्स’को बोट कडा र जराहरू झाडीजस्तो हुने भएकाले यो प्रतिकूल हावापानी, मौसम र माटोमा पनि सजिलै फस्टाउन सक्छ । यसका लागि गर्मी समयको औसत तापक्रम २५ देखि ३२ डिग्रीसेन्टिग्रेड उपयुक्त मानिने कृषि ज्ञान केन्द्र भद्रपुरका प्रमुख विष्टले जानकारी दिए ।
झापाका विभिन्न क्षेत्रमा जङ्गली हात्ती र बाँदरले बालीनाली नष्ट गर्दा किसानहरू हैरान भइरहेका बेला इन्जिनियर तामाङले भित्राएको यो खेती जङ्गल आसपासका अन्य पीडित किसानका लागि पनि एउटा उत्कृष्ट र दिगो वैकल्पिक खेती बन्न सक्छ । रासस







