काठमाडौं । काठमाडौं महानगरपालिका शिक्षा विभागद्वारा आयोजित महानगरपालिकास्तरीय माध्यमिक तहको हाजिरिजवाफ प्रतियोगितामा सिद्धार्थ वनस्थली इन्स्टिच्युटले उत्कृष्ट सफलता हासिल गरेको छ ।
प्रतियोगितामा विद्यालयका विद्यार्थीहरू दिक्षिता आचार्य, सदिक्षा भण्डारी र अस्तित्व भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै द्वितीय स्थान प्राप्त गरेका हुन् । विभिन्न विद्यालयका प्रतिस्पर्धी टोलीबीच भएको प्रतिस्पर्धामा सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थीहरूले आफ्नो ज्ञान, आत्मविश्वास र प्रस्तुतीकरण क्षमताको प्रभावशाली प्रदर्शन गरेका थिए ।
विद्यालयले यस उपलब्धिलाई गौरवपूर्ण सफलताका रूपमा लिँदै विजयी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ । साथै, विद्यार्थीहरूको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक, अभिभावक तथा विद्यालय परिवारप्रति पनि विद्यालयले आभार व्यक्त गरेको छ ।
विद्यालय प्रशासनका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक विकास, नेतृत्व क्षमता तथा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
सिद्धार्थ वनस्थली इन्स्टिच्युटले शिक्षा, अनुशासन र अतिरिक्त क्रियाकलापका क्षेत्रमा उत्कृष्टता हासिल गर्दै आएको छ । विद्यालयले आगामी दिनमा पनि यस्ता उपलब्धिहरूलाई निरन्तरता दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।







