जुम्ला । जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६ जना किसानलाई अनुदानमा हाते ट्याक्टर (मिनी टिलर) वितरण गरेको छ ।
कृषि समूह, किसान र कृषि उद्यमीलाई २६ वटा हाते ट्याक्टर किसानलाई वितरण गरिएको हो । कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ उद्यमीलाई कृषि यान्त्रीकरण मिनी टिलर वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन कार्यालय जुम्लाका कृषि अधिकृत कमल देवकोटाले जानकारी दिए ।
किसानलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८२/८३ मा २६ जना कृषि उद्यमी किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको कृषि अधिकृत देवकोटाको भनाइ छ ।
व्यावसायिक कृषि गरिरहेका तथा आगामी दिनमा व्यावसायिक खेतीतर्फ अघि बढ्न इच्छुक किसानलाई प्राथमिकतामा राखेर छनोट गरी मिनी टिलर वितरण गरिएको हो । यसबाट खेतीपातीलाई आधुनिक बनाउँदै उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख खेमराज शाहीले बताए ।
कृषि यान्त्रीकरणका कार्यक्रम सञ्चालन गरेपछि किसानमा आधुनिक उपकरण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यावयन एकाइ जुम्लाले जनाएको छ ।







