Khabar Out
कांग्रेसले सक्रिय सदस्यताको म्याद थपेन, जेठ २८ नै अन्तिम

काठमाडौं । नेपाली कांग्रेसले सक्रिय सदस्यता नवीकरणका लागि थप गरिएको समयसीमा जेठ २८ गतेसम्म मात्र कायम रहने स्पष्ट गर्दै सबै सदस्यलाई अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको छ ।

कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सोमबार जारी गरेको निर्णयअनुसार आगामी १५ औँ महाधिवेशनलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने तयारीस्वरूप सक्रिय सदस्यता नवीकरणलाई तीव्रता दिइएको हो ।

पार्टीका अनुसार जेठ २५ गते साँझ ५ बजेसम्म अद्यावधिक गर्न योग्य ९ लाख ५२ हजार २०१ सक्रिय सदस्यमध्ये ४ लाख ७७ हजार ७ सय ४३ जनाले एनसिआइडी (NCID) प्राप्त गरिसकेका छन् भने १८ हजार २ सय २४ जनाले स्वयं नवीकरण फाराम पेश गरेका छन् ।

कांग्रेसले महाधिवेशनमा सहभागी हुन सक्रिय सदस्यको एनसिआइडीलाई मुख्य आधार बनाइने भएकाले सबै सक्रिय सदस्यले अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्ने जनाएको छ । कुनै सदस्यको सदस्यता अनधिकृत रूपमा नवीकरण गरिएको जानकारी प्राप्त भए प्रमाणसहित केन्द्रीय कार्यालयमा उजुरी दिन सकिने र छानबिनपछि त्यस्तो सदस्यता बदर गरिने व्यवस्था पनि गरिएको छ ।

त्यसैगरी, पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेका वा अन्य दलका उम्मेदवारको प्रस्तावक, समर्थक तथा प्रचारक बनेका व्यक्तिको सदस्यता केन्द्रीय अभिलेखबाट हटाइने निर्णयसमेत गरिएको छ ।

बैठकले नयाँ सक्रिय सदस्यता वितरणको प्रक्रिया पनि निरन्तर अगाडि बढाउने निर्णय गर्दै विधानअनुसार योग्य नेपाली नागरिकलाई सदस्यता उपलब्ध गराउन पार्टीका सबै तहलाई निर्देशन दिएको छ। नयाँ सक्रिय सदस्यता पार्टीको आधिकारिक अनलाइन प्रणालीमार्फत प्राप्त आवेदनका आधारमा सम्बन्धित तहको सिफारिसपछि स्वीकृत गरिने जनाइएको छ ।

बैठकले सक्रिय सदस्यता नवीकरणका क्रममा प्राविधिक समस्या आएमा पार्टीको आधिकारिक वेबसाइट  dashboard.nepalicongress.org वा सम्पर्क नम्बर ९७०१२५५५५५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update