Khabar Out
राष्ट्रिय भूमि मिचिँदा सम्झौता होइन, अडान चाहिन्छ : अभिनेता हमाल

काठमाडौं । अभिनेता राजेश हमालले नेपाल–भारत सीमा विवाद र भू–अतिक्रमणको विषयमा सार्वजनिक रूपमा धारणा राख्दै राज्यलाई राष्ट्रिय हितको रक्षा गर्न गम्भीर बन्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सीमापार अतिक्रमण (Cross-Border Occupation)राज्य–प्रायोजित भू–अतिक्रमण (State-Sponsored Territorial Encroachment) फरक विषय भएको उल्लेख गरेका छन् । उनले यी दुई विषयलाई एउटै रूपमा बुझ्न नहुने भन्दै राज्यको भूमिका र जिम्मेवारीबारे स्पष्ट हुनुपर्ने बताएका छन् ।

हमालले लेखेका छन् सीमापार अतिक्रमण प्रायः सीमावर्ती नागरिकहरूको आवतजावत, बसोबास र सामाजिक सम्बन्धसँग जोडिएको विषय हो । नेपाल–भारत खुला सीमाका कारण यस्ता गतिविधि देखिन सक्ने भए पनि त्यसलाई संवाद, समझदारी र स्थानीय तहको सहकार्यबाट समाधान गर्न सकिने उनको भनाइ छ ।

तर राज्य–प्रायोजित भू–अतिक्रमण भने गम्भीर विषय भएको उनको तर्क छ । उनले कुनै राष्ट्रले अर्को राष्ट्रको भूभागमा आफ्नो प्रशासनिक नियन्त्रण विस्तार गर्ने, सडक निर्माण गर्ने, प्रशासनिक संरचना खडा गर्ने वा सरकारी गतिविधि सञ्चालन गर्ने कार्यलाई सार्वभौमिकतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् ।

हमालले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई यसको प्रमुख उदाहरणका रूपमा उल्लेख गर्दै राष्ट्रिय अखण्डतासँग जोडिएका विषयमा राज्यले स्पष्ट र दृढ अडान लिनुपर्ने बताएका छन् ।

उनले विश्व राजनीतिक परिवेश जटिल बन्दै गइरहेको अवस्थामा नेतृत्वमा अनुभव, निर्णय क्षमता र स्पष्ट दृष्टिकोणको आवश्यकता झन् बढेको पनि उल्लेख गरेका छन् । राष्ट्रिय हितका सवालमा कमजोरी देखिए भविष्यमा थप चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत उनले दिएका छन् ।

हमालको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा राष्ट्रियता र सीमा सुरक्षासम्बन्धी बहसलाई थप तीव्र बनाउने धारणा रूपमा हेरिएको छ । विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रबारे समय–समयमा उठ्दै आएको विवादका बीच उनको टिप्पणीले नयाँ चर्चा सुरु गरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update