काठमाडाैँ । पश्चिम एसियामा विभिन्न मोर्चामा युद्धविरामका घोषणा गरिए पनि क्षेत्रभर लडाइँ तीव्र भइरहँदा स्थायी शान्तिको सम्भावना अझै अनिश्चित बनेको छ।
गाजा, लेबनान र इरानमा औपचारिक युद्धविरामका दाबीहरूबिच पनि जमिनमा हिंसा रोकिएको छैन, जसले ‘युद्धविराम’ शब्दकै प्रभावबारे प्रश्न उठाएको छ।
पछिल्ला केही हप्तामा इजरायली सेनाले गाजामा आफ्नो नियन्त्रण विस्तार गर्दै थप क्षेत्र कब्जा गरेको छ भने हमासका शीर्ष लडाकूहरू सहित दर्जनौँ मानिसको मृत्यु भएको बताइएको छ। यसैबिच लेबनानमा इजरायली सेनाले आफ्नो दशकौँयताकै गहिरो सैन्य कारबाही गरेको दाबी गरिएको छ । त्यहाँ हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार जारी राखेको छ।
लेबनानमा जारी तनावबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षले तनाव घटाउने सहमति जनाएको बताए, तर युद्धमैदानमा भने लडाइँ रोकिएको छैन।
संयुक्त राज्य अमेरिका र इरानबिच पनि स्थायी युद्धविरामका लागि प्रयास भइरहेका बेला सीमित झडपहरू जारी छन् । इरानले हर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण कायम राखिरहेको छ भने अमेरिकी पक्षले इरानी बन्दरगाहहरूमा नाकाबन्दीलाई अझ कडा बनाउने प्रयास गरेको छ। यसले विश्व ऊर्जा आपूर्तिमा थप दबाब सिर्जना गरेको छ।
यद्यपि औपचारिक रूपमा कुनै पनि पक्षले युद्धविरामबाट पूर्ण रूपमा बाहिरिने घोषणा गरेका छैनन्, तर व्यवहारमा भने सम्झौताहरू कमजोर बन्दै गएको देखिएको छ।
गाजामा इजरायलले सन् २०२३ को अक्टोबर ७ को हमास आक्रमणपछि सुरु भएको युद्धविरामलाई शान्तिको आधार बनाउने भनिए पनि त्यसपछि अपेक्षित प्रगति हुन सकेको छैन। हमासले निःशस्त्रीकरण गर्न अस्वीकार गरेको र इजरायली सेना अझै पनि अग्रसर हुँदै गएको आरोप–प्रत्यारोप जारी छ।
स्थानीय स्रोतका अनुसार गाजाका झण्डै साढे नौ लाखभन्दा बढी प्यालेस्टिनी अस्वस्थ पालका शिविरहरूमा बस्न बाध्य छन् । त्यहाँ सफाइ, पानी र स्वास्थ्य समस्याले जीवन कठिन बनेको छ।
अमेरिका र इजरायलले हमासलाई जिम्मेवार ठहर गर्दै निःशस्त्रीकरणको अभावले प्रक्रिया अवरुद्ध भएको बताएका छन् भने हमासले इजरायलले बारम्बार युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ, जसमा महिला र बालबालिकासहित सयौँको मृत्यु भएको दाबी गरिएको छ।
इजरायलले गाजाको करिब ६० प्रतिशत भूभाग नियन्त्रणमा लिएको बताइएको छ। यो युद्धविरामअघि करिब आधा मात्र थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले नियन्त्रण अझ बढाउने सङ्केत गरेका छन्, जसलाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनको शान्ति योजनासँग मेल नखाने बताए।
लेबनानमा पनि युद्धविरामको प्रभाव कमजोर देखिएको छ । इजरायल र इरान समर्थित हिजबुल्लाहबिच दक्षिणी क्षेत्रमा झडप जारी छ। इजरायली सेनाले ब्युफोर्ट किल्लामा आफ्नो झण्डा फहराएको घटनालाई दशकौँपछिको सबैभन्दा गहिरो सैन्य प्रवेशका रूपमा लिइएको छ भने हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट आक्रमण गरेको छ।
सन् २०२४ को युद्धविरामपछि पनि इजरायली आक्रमण नरोकिएको र हिजबुल्लाहले पूर्ण रूपमा सम्झौता स्वीकार नगरेको अवस्था देखिएको छ । इजरायलले आफ्नो उत्तरी क्षेत्र सुरक्षित नभएसम्म लडाइँ जारी राख्ने स्पष्ट पारेको छ।
यसैबिच इरानले अमेरिकासँगको कुनै पनि दीर्घकालीन सम्झौतामा लेबनानको अवस्था पनि समेटिनुपर्ने अडान राखेको छ । यसले वार्तालाई अझ जटिल बनाएको छ।
हर्मुज जलघाँटीमा पनि तनाव निरन्तर छ। अमेरिकी पक्षले नाकाबन्दी कडा बनाइरहेको र इरानले यसको जवाफमा सैन्य गतिविधि बढाइरहेको बताइएको छ। पछिल्ला दिनहरूमा दुवै पक्षबिच ड्रोन र क्षेप्यास्त्र आक्रमणसमेत भएको छ।
सप्ताहन्तमा इरानले अमेरिकी ड्रोन खसालेपछि अमेरिका र इरानबीच थप सैन्य कारबाही भएको र खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डाहरू लक्षित आक्रमण प्रयास गरिएको विवरण सार्वजनिक भएको छ।
विश्लेषकहरूका अनुसार मध्यपूर्वमा हालको अवस्था औपचारिक सम्झौता भए पनि व्यवहारमा युद्ध रोकिएको छैन भन्ने उदाहरण बनेको छ । यसले ‘युद्धविराम’ शब्दको विश्वसनीयतामै प्रश्न उठाएको छ।







