Khabar Out
विद्यार्थी न्यून भएका विद्यालय समायोजन

बाँके । बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएका तीन विद्यालयलाई समायोजन गरेको छ ।

विद्यार्थी सङ्ख्या न्यून रहेको खजुरा गाउँपालिका–३ स्थित शान्ति प्राथमिक विद्यालय, खजुरा गाउँपालिका–२ स्थित भानुदय प्रावि र शिव प्रावि नयाँ गुराँसपुर गरी हालसम्म तीन विद्यालयलाई समायोजन गरिएको खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार, शान्ति प्राथमिक विद्यालय जनता माध्यमिक विद्यालयमा समायोजन गरेर त्यहाँ गाउँपालिकाको प्रशासनिक कार्यालय निर्माण गरिएको छ । भानुदय र शिव प्राविलाई शुक्र माविमा समायोजन गरिएको छ ।

विद्यालय अन्यत्रै समायोजन भएपछि भानुदय प्राविको भवन खाली रहेको छ । शिव प्रावि नयाँ गुराँसपुर पनि शुक्र माविमा समायोजन गरिए पछि दुईतले भवन प्रयोगविहीन भएको छ । एउटा कोठामा बाल विकास सञ्चालन भए पनि अधिकांश भवन प्रयोगविहीन रहेको शिक्षा शाखा प्रमुख मल्लले बताउनुभयो ।

खजुरा गाउँपालिकाले विसं २०७५ देखि विद्यालय समायोजनको नीति कार्यान्वयनमा ल्याएको हो । विद्यालय समायोजनपछि प्रयोगविहीन विद्यालय भवन र अन्य संरचना संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् । विद्यालय समायोजन नीति आवश्यक भए पनि खाली भएका भवनको सदुपयोगका लागि स्थानीय तहले ठोस योजना बनाउनुपर्ने खजुरा गाउँपालिका–२ का स्थानीय अगुवा भीम ओलीले बताउनुभयो । रासस

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update