Khabar Out
अन्नपूर्णको फेदीमा ७६औँ आरोहण दिवस

म्याग्दी । अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आगामी हप्ता ७६औँ आरोहण दिवस मनाउने तयारी भएको छ ।

म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विविध कार्यक्रमका साथ आरोहण दिवस मनाउन लागिएको हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर पुनले आधार शिविरदेखि नारच्याङ दौड प्रतियोगिता, हुमखोला–आधार शिविर पदमार्ग र सांस्कृतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउने तयारी गरेको जानकारी दिए ।

विजेतालाई रु एक लाख र उपविजेतालाई रु ६० हजार पुरस्कार राशिको आधार शिविर–नारच्याङ ३६ किलोमिटर दूरीमा पुरुष महिला खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । यही जेठ १७ गते नारच्याङदेखि हुमखोला हुँदै आधार शिविर जाने पदयात्रा र दौडमा सहभागी टोली २० गते फर्किएपछि सांस्कृतिक कार्यक्रमसहित आरोहण दिवस समापन गर्ने तय भएको छ ।

आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

“दिवस मनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ”, उनले भने, “यसअघि काठमाडौँ, पोखरा र कास्कीको भूगोलमा पर्ने आधार शिविरमा मनाइने अन्नपूर्ण आरोहण दिवस गत वर्षदेखि सम्बन्धित भूगोलमा मनाउन थालिएको थियो ।”

समुद्री सतहदेखि चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास भएको छ । पदमार्ग, पूर्वाधार निर्माण, खाने बस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकिङका पथप्रदर्शक लाक्पा आङवु शेर्पाले बताए ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update