मुस्ताङ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा औषधीय गुण भएको बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेक, खर्क र पाटनहरूमा धमाधम यार्सा सङ्कलन भइरहेको छ। समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिको उचाइ क्षेत्रमा यो वन्य औषधीय जडीबुटी पाइन्छ।
बर्सेनि वैशाखदेखि असार महिनासम्म गरिने यार्सा सङ्कलनका लागि स्थानीय र जिल्ला बाहिरका मानिसले सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी) ले तोकेको शुल्क तिरेर अनुमतिपत्र (पुर्जी) लिई उच्च लेक र पाटनतर्फ प्रस्थान गरेको एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिए। उनका अनुसार यार्सा सङ्कलन छोडपुर्जी अनुमतिका लागि यहाँका विभिन्न समितिले एक्याप कार्यालयबाट पूर्वलिखित अनुमति लिनुपर्ने प्रावधान छ। मुस्ताङको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रका उच्च लेकहरूमा सङ्कलन कार्य सुरु भइसकेको छ। थासाङ गाउँपालिकाका विभिन्न समितिले वैशाख २ गतेदेखि नै उच्च लेकमा यार्सा सङ्कलन फुकुवा गरेका हुन्।
घरपझोङ गाउँपालिकास्थित संरक्षण व्यवस्थापन समिति जोमसोमले वैशाख २५ गतेदेखि यार्सा सङ्कलन फुकुवा गरेको समितिका सचिव पवन गुरुङले जानकारी दिए। उनका अनुसार छत्रबाङ लेकदेखि नमखुलेक हुँदै लुप्रा लेकसँग सिमाना जोडिएको कुङ्ले लेकसम्मको क्षेत्रमा यार्सा सङ्कलन खुला गरिएको हो। जोमसोम समितिले ढुम्बा, सम्ले, ठिनी र जोमसोमका रैथाने कुरिया दर्ता भएका स्थानीयलाई चार हजार र स्थानीयको घरखेत अधिया कमाएर बसेका व्यक्तिहरूलाई छ हजार शुल्क लिने गरी अनुमतिपत्र दिने गरेको छ। हालसम्म ६५ जनाले अनुमति लिइसकेका छन्।
त्यस्तै, वारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आइतबारदेखि यार्सा सङ्कलन फुकुवा गरेको छ। समिति मातहतको उच्च लेकमा यार्सा सङ्कलन गर्ने अनुमतिका लागि स्थानीय व्यक्तिलाई तीन हजार र जिल्ला बाहिरका व्यक्तिलाई छ हजार शुल्क तोकिएको समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिए। मुक्तिनाथमाथिको रिसम्बा लेक र लुप्रा गाउँमाथिको नेर झोङ उच्च लेकमा यार्सा सङ्कलन गर्न दुई दिनको फेरोमा १६५ जना व्यक्तिले अनुमतिपत्र लिइसकेका छन्। मुक्तिनाथ क्षेत्रमा अनुमति लिनेहरू शतप्रतिशत जिल्ला बाहिरका व्यक्तिहरू छन्। गत वर्ष यार्सागुम्बाको मूल्य कम भएकाले यस वर्ष सङ्कलनकर्ता कम मात्रामा आएका र गत वर्षको तुलनामा यस वर्ष मुक्तिनाथ लेकमा सङ्कलन गर्नेको सङ्ख्या ५० प्रतिशतले घटेको सचिव गुरुङको भनाइ छ।
वारागुङ मुक्तिक्षेत्र–२ को झोङ संरक्षण व्यवस्थापन समिति र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–५ ताङ्ग्यास्थित सुर्खाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिले पनि उच्च लेकमा यार्सा सङ्कलन फुकुवा गरिसकेको एक्याप लोमान्थाङ प्रमुख उमेश पौडेलले जानकारी दिए। उनका अनुसार लोमान्थाङ गाउँपालिकामा यार्सा सङ्कलन हुँदैन भने लोघेकर दामोदरकुण्डमा सुर्खाङ समितिले मात्रै यार्सा सङ्कलन फुकुवा गरेको छ। एक्यापअन्तर्गतका समितिबाट पुर्जी वितरण गरिएको भए पनि घरपझोङ–२ मार्फा, वारागुङ मुक्तिक्षेत्र अन्तर्गत छेङ्गुर, कागबेनी र छुसाङ लगायतका गाउँबाट एक्यापको समन्वय विना नै गाउँ समाजबाटै यार्सा सङ्कलन फुकुवा गरिएको छ।
मुस्ताङका उच्च लेकमा सङ्कलन गरिएका यार्सागुम्बा जिल्ला बाहिर लैजान परेमा सम्बन्धित स्थानीय तह र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई राजस्व र दस्तुर बुझाउनुपर्ने हुन्छ। यार्साको कारोबार गर्ने व्यापारीले जिल्ला बाहिर ढुवानी गर्नु परेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नियमअनुसार प्रतिकेजी ३१ हजार राजस्व बुझाउनुपर्ने प्रावधान छ। यसको बजार मूल्य गुणस्तरका आधारमा प्रतिकेजी सरदर १५ लाखदेखि २५ लाख रुपैयाँसम्म रहने गोरखाका यार्सा व्यवसायी काजीराम गुरुङले बताए। राजस्व तिरेर जिल्लाबाट वार्षिक रूपमा पाँचदेखि सात केजीसम्म यार्सा निर्यात हुने गरेको सरकारी तथ्याङ्क छ। नेपालमा उत्पादित यार्सामध्ये ८० प्रतिशत चीन र बाँकी अन्य देशमा निर्यात हुने गरेको छ।
यार्साको सिजन सुरु भएसँगै एक्यापले वन्यजन्तुको चोरीसिकारी, वन डढेलो नियन्त्रण र उच्च लेक, खर्क तथा पाटनमा हुन सक्ने अवांछित गतिविधि रोकथाम गर्न यसै वर्षदेखि एआई जडित ड्रोन क्यामेरा प्रयोगमा ल्याएको छ। उच्च लेकमा हुने सबै प्रकारको जोखिम र अपराध नियन्त्रण तथा त्यसको पहिचान गर्न एआई ड्रोन क्यामेरा प्रयोगमा ल्याइएको हो। यसका अलावा आपराधिक क्रियाकलाप रोक्न एक्यापद्वारा प्रशासन, प्रहरी र संरक्षण क्षेत्र व्यवस्थापन समितिको रोहबरमा पैदल गस्तीसमेत गर्ने गरिएको छ।
हिमाली क्षेत्रको उच्च लेक, खर्क र पाटनमा पाइने औषधीय जडीबुटी यार्सागुम्बा एक प्रकारको प्राकृतिक जीव र वनस्पति मिश्रित स्वरूप हो। यसलाई कतिपयले ‘किरा’ पनि भन्ने गर्छन्। हिमाली क्षेत्रको उच्च लेकमा पाइने एक विशेष प्रकारको पुतलीको लार्भा (किरा) जमिनभित्र बस्छ। त्यस किराको शरीरमा ‘कर्डिसेप्स’ नामको ढुसी प्रवेश गर्छ। ढुसीले बिस्तारै किराको शरीरभित्र विकसित हुँदै किरालाई मारेपछि त्यसभित्र बस्छ। हिउँदयामको जाडो महिना सुरु हुँदा मृत किराको टाउकोबाट सानो घाँस जस्तो डाँठ पैदा भई बाहिर निस्कन्छ। सोही किराको शरीर र माथि उम्रिएको ढुसी मिलेर बनेको वस्तुलाई यार्सागुम्बा भनिन्छ। समग्रमा, यार्सा भनेको गर्मीयामको घाँस र गुम्बा भनेको जाडोयामको किरा भन्ने तिब्बती अर्थबाट यसको नामकरण गरिएको हो।
हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको सेवनले शारीरिक तन्दुरुस्ती, यौन क्षमता र रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी मानिन्छ। यार्सागुम्बालाई विदेशीहरूले औषधि उत्पादनका लागि प्राकृतिक केमिकलको रूपमा प्रयोग गर्ने भएकाले विश्व बजारमा यसको खपत बढी हुने गरेको छ।






