Khabar Out
मङ्गलाका किसानलाई कृषि औजार वितरण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई रु एक करोड मूल्य बराबरका कृषि औजार वितरण गरेको छ ।

गाउँपालिकाको केन्द्र बाबिया चौरको माटेबगरमा मङ्गलबार ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो, मिल र थ्रेसर मेसिन वितरण गरिएको हो । गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल रोकाले १४९ वटा मिनिटेलर हलो, ३५ वटा मिल र ११ थान थ्रेसर वितरण गरेको जानकारी दिए ।

कृषि कार्यको लागत घटाउन, कृषकहरुको सहजता र समयको बचतका लागि यान्त्रीकरणका कार्यक्रममा जोड दिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनिटेलरको प्रयोग बढेको छ ।

एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनिटेलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झञ्जट हटेको मङ्गला गाउँपालिका–४ का किसान धनमाया रोकाले बताइन् ।

मिनिटेलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस, पानीको जोहो गर्दा हुने झञ्जट हटेको किसान नन्दकला सुनारले बताइन् । किसान जगत घर्तीले मिनिटेलरलगायतका उपकरणको प्रयोगबाट कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको र समयको बचत भएको बताए । रासस

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update