Khabar Out
शिक्षकलाई मगर खाम भाषाको तालिम

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषासम्बन्धी तालिम प्रदान गरिएको छ ।

मगर समुदायको बाहुल्यता रहेका बस्तीका १५ विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत मगर खाम भाषामा पठनपाठन गराउन दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले सञ्चालन भएको तालिम शनिबार सकिएको हो ।

बेनीमा सात दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषाविज्ञ कर्णबहादुर बुढामगरले प्रशिक्षण दिएका थिए । रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा १ को मगर खाम भाषा किताब तयार पारेको नेपाल पुन मगर समाज रघुगङ्गाका अध्यक्ष टीका पुर्जा पुनले बताए । सयौँ वर्षदेखि हराएर जाने अवस्थामा पुगेको मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणका लागि विद्यालयका शिक्षकलाई प्रशिक्षकका रूपमा तयार गर्न तालिम सञ्चालन गरिएको उनले बताए ।

कार्यक्रममा पुन मगर समाज युकेका सल्लाहकार योगकुमार फगामीले मगर भाषाको महत्वलाई उजागर गरी नयाँ पुस्तालाई भाषाको ज्ञान दिन तालिमलाई प्रभावकारी बनाउन आवश्यक रहेकामा जोड दिए । नेपाल एकीकरणको समयदेखि तत्कालीन रिडीखोला/कालीगण्डकी नदीदेखि पूर्वका १२ र पश्चिमका १८ मगर राज्यहरूको अस्तित्व मेटिएसँगै मगर खाम भाषा र लिपिको समेत इतिहास मेटिँदै गएको नेपाल मगर सङ्घका अध्यक्ष खम थापामगरले बताए । रासस 

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update