Khabar Out
बाबु–छोरा नै जटिल रोगबाट थला परेपछि गाउँलेले थाले सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुबा–छोरा नै जटिल रोगबाट थला परेपछि स्थानीयले उपचारका लागि चन्दा सङ्कलन गर्न थालेका छन् ।

शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४२ वर्षीय महेन्द्र राना दुवै मिर्गौला खराब गएर उपचाररत रहेकै बेला उनका १९ वर्षीय छोरा रोहित रानालाई ‘ब्लड क्यान्सर’ देखिएपछि स्थानीयले सहयोगको याचना गरिरेहका छन् ।

स्थानीय मेनका सिंहले आर्थिक अवस्था कमजोर रहेका राना बाबुछोराको जीवन रक्षाका लागि सहयोग अभियान सञ्चालन गरिएको बताइन् । “बुबा–छोरा जटिल स्वास्थ्य समस्याबाट ग्रसित भएपछि परिवारको बिचल्ली हुने अवस्था उत्पन्न भएको छ”, उनले भनिन्, “दुवै जनाको जीवन बचाउन सकिने आशाले सबैसित सहयोगको अपेक्षा गरेर अभियान सुरु गरेका छौँ ।”

शुक्लाफाँटा नगरपालिका–१ का वडासदस्य दीनाराम रानाले बुबाछोराको उपचारमा सहयोग गर्न गाउँमा सबैसित आग्रह गरिएको बताए । “बुबा महेन्द्र राना विगत छ/सात महिनादेखि दुवै मिर्गौला खराब भएर धनगढीमा उपचाररत हुनुहुन्छ । यहीबिचमा गत फागुनमा छोरा रोहितलाई पनि ब्लड क्यान्सर जस्तो समस्या देखिएपछि हाल काठमाडौँमा उपचार हुँदैछ”, उनले भने ।

वडासदस्य रानाले परिवारका अन्य सदस्यले उपचार खर्च धान्न सक्ने अवस्था नरहेकाले दुवै जनाको ज्यान जोगाउन सबैबाट सहयोगको अपेक्षा रहेको बताए । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update