काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले वर्षायाम सुरु हुनै लाग्दा बाढीपहिरो र डुबान रोकथामका लागि पूर्वतयारी गर्न तथा स्वास्थ्य, शिक्षा र दलित पीडितका मुद्दामा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा बोल्दै सांसद राजेशकुमार चौधरीले रौतहट जिल्ला चारैतिर नदीनालाले घेरिएका कारण हरेक वर्ष सदरमुकाम डुबानमा पर्ने र करोडौँको क्षति हुने गरेको उल्लेख गर्दै समयमै रोकथामका लागि पहल गर्न माग गरे ।
यस्तै, सांसद रामविनोद यादवले धनुषा क्षेत्र नम्बर २ मा कमला नदीको कटान र डुबानको समस्याका साथै शिक्षा र स्वास्थ्यको अभावप्रति सरकारलाई सचेत गराएका छन्। सांसद रुविना आचार्यले आगामी बजेट आवश्यकताका आधारमा विनियोजन गर्नुपर्ने र वर्षायाममा हुने प्राकृतिक प्रकोपबाट बच्न पूर्वतयारीमा जोड दिइन् ।
दलित र सीमान्तकृत समुदायमाथि भएका हिंसा र असुरक्षाको विषय पनि संसद्मा प्रमुखताका साथ उठेको छ। सांसद राधिका रम्तेलले सुर्खेतकी १६ वर्षीया एनिसा विकको बलात्कारपछि हत्या र सिन्धुलीका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा भएको मृत्युप्रति आक्रोश व्यक्त गर्दै राज्यले कमजोर नागरिकलाई सुरक्षा दिन नसकेको बताइन् ।
सांसद रिमा विश्वकर्माले श्रीकृष्ण विश्वकर्माको मृत्यु भएको १८ दिन बितिसक्दा पनि पीडितले न्याय नपाएको उल्लेख गर्दै हिरासतभित्र हुने अधिकांश मृत्युलाई 'आत्महत्या' भनेर उम्कन नमिल्ने धारणा राखिन् ।
बिना तयारी सुकुमबासी बस्ती हटाउने सरकारको कदमप्रति पनि सांसदहरूले प्रश्न उठाएका छन्। सांसद रिगला यादव र रेखाकुमारी यादवले सुकुमबासीलाई उचित बासको ग्यारेन्टी र व्यवस्थापन नगरी बस्ती नउठाउन माग गरे। यस्तै, सांसद बिना गुरुङले पोखराको फेवाताल संरक्षण गर्दा लालपुर्जा भएकालाई मुआब्जा दिन र वर्षौँदेखि माछा व्यवसायमा संलग्न जलारी समुदायको उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गरिन् ।
अन्य विषयहरूमा सांसद रुपेस रञ्जितले भक्तपुरमा खोपः विश्वविद्यालय र वीर अस्पताल निर्माणको काम अघि बढाउन तथा मापदण्डविपरीतका इँटाभट्टाहरू बन्द गर्न माग गरे। सांसद विदुषी राणाले उद्योग र उत्पादनलाई प्राथमिकतामा राख्नका लागि सडक मार्ग र ढुवानीको उचित व्यवस्थापन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएकी छन् । रासस







