चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले रु ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान र निजी क्षेत्रबाट उनीहरुले सो रकम पाउन बाँकी रहेको हो ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुस महिनादेखिको भुक्तानी भएको छैन भने निजी उद्योगहरुले तीन महिनादेखिको रकम दिएका छैनन् ।
उनका अनुसार जिल्लाबाट दूध लैजाने उद्योगमध्ये २५ प्रतिशतले नियमित भुक्तानी गर्ने गरे पनि अन्य उद्योगले रकम नदिँदा किसान मर्कामा परेका हुन् ।
जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँका ११५ वटा दुग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले उत्पादन गरेको दूध बिक्री गर्दै आएका छन् । नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसान भुक्तानीमा समस्या देखिएपछि पुनः निराश बन्न थालेको बगालेले बताए ।
सङ्घले भुक्तानीमा समस्या देखिएसँगै आफ्नो उत्पादनलाई बजारीकरण गर्न तीन स्थानमा डेरी मार्ट सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० को दूरसञ्चार रोड, चितवन मेडिकल कलेज पछाडि र वडा नम्बर ३ को बेलचोकमा मार्ट सञ्चालनमा ल्याइएको हो ।
सङ्घको रत्ननगरमा रहेको आफ्नै डेरी उद्योगबाट उत्पादित दुग्धजन्य वस्तु मार्टमार्फत सेवाग्राहीसम्म पुर्याउने काम भइरहेको बगालेले बताए । मार्टमा दूध, घ्यू, पनिर, नौनी, खुवा, मोहीलगायत सामग्री बिक्री वितरण हुँदै आएको उनले जानकारी दिए ।







