Khabar Out
सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो ।

यसअघि दिउँसो २ बजे राष्ट्रियसभा र प्रतिनिधिसभाका छुट्टाछुट्टै बैठक बस्नेछन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते राष्ट्रपतिबाट संघीय संसद्मा सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

सरकारले आगामी आर्थिक वर्षको बजेट तथा योजनाको प्राथमिकता निर्धारण गर्नुअघि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने संवैधानिक तथा संसदीय अभ्यास रहेको छ । नीति तथा कार्यक्रममा सरकारका आगामी वर्षका मुख्य योजना, प्राथमिकता तथा विकास रणनीतिहरू समेटिने अपेक्षा गरिएको छ ।

विगतमा प्रि–बजेट छलफल सम्पन्न भएपछि मात्रै नीति तथा कार्यक्रम ल्याउने अभ्यास भए पनि पछिल्ला वर्षहरूमा यसको क्रम परिवर्तन हुँदै आएको छ । अघिल्लो वर्ष भने नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि मात्रै प्रि–बजेट छलफल गरिएको थियो ।

संविधानअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । बजेटअघि नीति तथा कार्यक्रम र प्रि–बजेट छलफल सम्पन्न गरिनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update