Khabar Out
संसदीय सुनुवाइ समितिको कार्यविधि तय

काठमाडौँ । सङ्घीय संसद्, सुनुवाइ समितिको बिहीबारको बैठकले बैठक सञ्चालनसम्बन्धी कार्यविधि तय गरेको छ । संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सिफारिस गरेसँगै समितिले त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनुवाइ प्रक्रिया आरम्भ गर्नेछ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिका रूपमा रहेको यो समितिको पहिलो बैठकले सभापतिमा बोधनारायण श्रेष्ठलाई चयन गरेपछि कार्यसूचीगत रूपमा पहिलोपटक बिहीबार बैठक भएको हो । समितिका सदस्यसचिव तुलबहादुर कँडेलले समितिको बैठक र सुनुवाइको कार्यविधि तय भएसँगै अब काम अघि बढाउन सहज भएको बताए ।

कार्यकारिणीले सार्वजनिक महत्त्वका पदमा नियुक्तिका लागि प्रस्ताव गरेका व्यक्तिहरू तथा पदाधिकारीहरूको दक्षता, क्षमता र इमानदारिता व्यवस्थापिकाद्वारा परीक्षण गरी कार्यपालिकालाई व्यवस्थापिकाप्रति उत्तरदायी र जबाफदेही तुल्याउने लोकतान्त्रिक पक्रियालाई संसदीय सुनुवाइ मानिन्छ ।

नेपालको संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि सङ्घीय कानुनबमोजिम संसदीय सुनुवाइ हुने भन्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update