काठमाडौं । झण्डै अढाई दशकअघि लेखिएको खण्डकाव्य ‘गौथली’ कथामा आधारित गीति चलचित्र ‘गौथली’ आगामी साउन १ गते (जुलाई १७) देखि प्रदर्शनमा आउने भएको छ । भोला रिजाल प्रोडक्सन प्रा.लि. र सुजन गिरी प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको यस चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका छन् ।
समाजमा व्याप्त बालविवाह, अशिक्षा, मातृमृत्यु जस्ता गम्भीर सामाजिक समस्यालाई कथावस्तुमा समेटेर निर्माण गरिएको ‘गौथली’ले जनचेतना फैलाउने उद्देश्य लिएको निर्माण पक्षले जनाएको छ। मूल कृतिलाई पुनर्लेखन गरी निर्देशक रिजालले सूक्ष्म दृष्टिसहित चलचित्रमा उतारेका हुन् ।
सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेको यस चलचित्रले पुरानो काव्यकथालाई आधुनिक प्रस्तुतीकरणमार्फत दर्शकमाझ ल्याउने प्रयास गरेको छ । चलचित्रमा समाजमा जरा गाडेका कुरीति र विभेदविरुद्ध सशक्त सन्देश प्रस्तुत गरिएको छ ।
निर्माण टिमका अनुसार ‘गौथली’ केवल मनोरञ्जनमा सीमित नभई सामाजिक परिवर्तनका लागि प्रेरणादायी माध्यम बन्ने विश्वास लिइएको छ । छोरीलाई दानको वस्तुजस्तो ठान्ने सोचको अन्त्य गर्दै छोराछोरीलाई समान शिक्षा र अवसर दिनुपर्ने सन्देशसमेत चलचित्रले प्रवाह गर्ने बताइएको छ ।
चलचित्रमा अनुभवी कलाकारहरूको अभिनय रहेको छ भने संगीत, कथा र सन्देशको समिश्रणले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ ।







