Khabar Out
संरक्षणको अभावमा जैविक विविधताले भरिपूर्ण ‘जलथल’ सङ्कटमा

झापा ।  जिल्लाको दक्षिणी भागमा अवस्थित जलथल जङ्गल जैविक विविधताले भरिपूर्ण ‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित छ । तर संरक्षणको अभावमा यहाँका दुर्लभ वनस्पति, जीवजन्तु र सिमसार क्षेत्रहरू अस्तित्वको सङ्कटमा परेको अध्ययनले देखाएको छ ।

भद्रपुर नगरपालिकासहित हल्दिबारी, कचनकवल र बाह्रदशी गाउँपालिकामा फैलिएको करिब छ हजार १०० हेक्टर क्षेत्रफलको जलथल जङ्गल सघन जैविक विविधताका कारण विश्वमै दुर्लभ मानिन्छ ।

पाँच वर्ष लगाएर गरिएको अध्ययनअनुसार फरेस्ट नेपालका डा लीलानाथ शर्माले समुद्र सतहबाट ७० देखि १२० मिटर उचाइसम्म फैलिएको यस जङ्गलमा उन्यूका ४३ प्रजाति र फूल फुल्ने वनस्पतिका ५६० भन्दा बढी प्रजाति अभिलेख गरिएको छ । उनका अनुसार यहाँ २३८ प्रजातिका चरा, १६८ प्रजातिका रुख, १५७ प्रजातिका पुतली, ८५ प्रजातिका च्याउ, ४२ प्रजातिका माछा, ३४ प्रजातिका सरिसृप, २८ प्रजातिका स्तनधारी, १५ प्रजातिका झ्याउ र १४ प्रजातिका उभयचर पाइन्छन् ।

“यति सानो बनखण्डमा यति धेरै जैविक विविधता विश्वमै दुर्लभ मानिन्छ, त्यसैले यसलाई संसारकै सानो तर सर्वाधिक विविधता भएको वनखण्ड भनिएको हो”, संरक्षणविद् डा शर्माले भने, “यसको संरक्षणका लागि राज्यको विशेष ध्यान आवश्यक छ । स्थानीय बासिन्दालाई समेत यसको महत्त्व बुझाएर संरक्षणमा सक्रिय बनाउने काम ढिला गर्नु हुँदैन ।”

तल्लो तराईमा रहेको भए पनि यहाँ पहाडी क्षेत्रमा पाइने कतिपय वनस्पति र रुखका प्रजातिसमेत भेटिन्छन् । जलवायु परिवर्तनका कारण यस्ता प्रजाति तराईमा टिक्न कठिन हुने भए पनि जलथलमा वर्षौंदेखि तिनको अस्तित्व कायम रहनु विशेष मानिन्छ ।

केही प्रजाति सङ्कटापन्न तथा संरक्षण प्राथमिकतामा परेका छन् । विश्व संरक्षण सङ्घ (आइयुसिएन)को ‘रेड लिस्ट’मा रहेका अति सङ्कटापन्न लाम्चे कछुवा, बगाले बगेडी र सालक यहाँ पाइन्छन् । यसैगरी नरम खपटे कछुवा, सुन गोहोरो र जङ्गली हात्ती पनि यस क्षेत्रमा भेटिन्छन् । स्थानीयले दुर्लभ मुसेमृग देखिएको दाबी गर्ने गरेका छन् ।

वनस्पतितर्फ अनौकाठ, लाटीबैरी, थाकल, रातो शिरीष र सतिसाल जस्ता दुर्लभ प्रजाति पाइन्छन् । जिम्नोस्पर्म समूहअन्तर्गतका थाकल र भोटेलहरा यहाँ अभिलेख भएका छन् भने सुपारी–नरिवल वर्गका चार दुर्लभ प्रजातिसमेत पाइन्छन् ।

पछिल्लो समय वातावरणीय विनाश र जलवायु सङ्कटका कारण जङ्गललाई पोषण गर्ने सिमसार, खोला, खोल्सी, झिल र पोखरी सुक्दै र लोप हुँदै गएका छन् । कमलधाप, झिल्का पोखरी, लतामारी, सोडागन्धी, होकलामारी, विशाल, दियालो र दुर्गाभिट्टा प्रमुख सिमसार हुन् भने भेल्सा, दुई, बालुवा, कुट्नु, झड्कन र बालुबाडी खोला यही जङ्गलबाट उत्पत्ति हुन्छन् ।

वरपिपल परिवारका १७ प्रजाति यहाँ अभिलेख भएका छन् । भेटिएका १६८ प्रजातिका रुखमध्ये ४३ प्रजातिमा भाले–पोथी बोट फरक–फरक पाइन्छन् भने ११२ प्रजाति दुर्लभ मानिएका छन् । जलथल जङ्गलको संरक्षणका लागि सरकारले सामुदायिक वन उपभोक्ता समितिमार्फत व्यवस्थापन जिम्मा दिएको छ । यहाँ २२ वटा सामुदायिक वन सक्रिय छन् र करिब एक लाख उपभोक्ता आबद्ध छन् ।

वन वरपर सन्थाल, राजवंशीलगायत आदिवासी समुदायको बसोबास छ । उनीहरूको जीविकोपार्जन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको यस क्षेत्रमा २०० भन्दा बढी प्रजातिका वनस्पति स्थानीयले उपयोग गर्दै आएका छन् । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update