Khabar Out
कृषि सडक स्तरोन्नतिमा जोड

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीबासमा कृषि सडकको विस्तार तथा स्तरोन्नतिमा जोड दिइएको छ । स्थानीय कृषकको उत्पादनलाई सहज रूपमा बजारीकरण गर्नुका साथै गाउँघरमै एम्बुलेन्स सेवा प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले वडा कार्यालयले कृषि सडक निर्माण तथा सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाएको हो ।

पहुँच अभावका कारण उत्पादन गरिएको कृषिउपज समयमै बजारसम्म पुर्‍याउन कठिनाइ भोग्दै आएका कृषकलाई लक्षित गर्दै विभिन्न टोल जोड्ने गरी कृषि सडक विस्तार गरिएको वडाध्यक्ष कुमार विष्टले बताए । सडक स्तरोन्नतिसँगै ढुवानी लागत घट्ने, समय बचत हुने तथा कृषकको आम्दानी वृद्धि हुने स्थानीयवासीको भनाइ छ ।

अनुसार कृषि उत्पादनलाई व्यवसायीकरणतर्फ उन्मुख गराउन पूर्वाधार विकास अपरिहार्य भएकाले सडक विस्तार र स्तरोन्नति कार्यलाई प्राथमिकतामा दिइएको हो । “कृषि नै यहाँका अधिकांश नागरिकको मुख्य पेसा हो”, वडाध्यक्ष विष्टले भने, “उत्पादन बढे पनि बजारसम्म पुग्ने सहज व्यवस्था नहुँदा किसानले उचित मूल्य पाउन सकेका थिएनन् । त्यसैले सडक विस्तारलाई जोड दिएका हौँ ।”

वडाको पहलमा मुख्य सडकका रूपमा खगल्लीटार–ग्याल्चोङ ५.५ किलोमिटर, तल्लो हर्का–कावा खोला–महादेवथान सडकलगायत गरी कुल ५६ दशमलव ३ किलोमिटर सडक विस्तार गरिएको छ । यसले गाउँका विभिन्न बस्तीलाई आपसमा जोड्दै आवागमनलाई सहज बनाएको छ ।

यसरी विस्तार गरिएको सडकको स्तरोन्नतिमा पनि वडाले ध्यान दिएको छ । सडकलाई ग्राभेल तथा सोलिङ गरी १२ महिना सञ्चालनयोग्य बनाउने लक्ष्यका साथ काम भइरहेको छ । साथै, आवश्यक स्थानमा एम्बुलेन्स पुग्नसक्ने गरी सडकको चौडाइ तथा संरचना सुधार गरिएको वडाले जनाएको छ।

स्थानीय कृषकका अनुसार सडक विस्तारपछि तरकारी, फलफूल तथा अन्य कृषिउपज ढुवानी गर्न सहज भएको छ । पहिले घण्टौँ लाग्ने दूरी अहिले छोटो समयमै पार गर्न सकिने भएपछि उनीहरू उत्साहित बनेका छन् । कृषि सडक विस्तारले आकस्मिक अवस्थामा बिरामीलाई छिटो स्वास्थ्य संस्थासम्म पुर्‍याउनसमेत सहज भएको स्थानीय विनोद बस्नेतले बताए ।

वर्षायाममा सडक बिग्रने समस्या समाधानका लागि नियमित मर्मत तथा गुणस्तरीय निर्माणमा जोड दिनुपर्ने स्थानीयको सुझाव छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा ४८१ परिवारको बसोबास रहेको छ भने कुल जनसङ्ख्या दुई, हजार ४९ रहेको छ ।

जसमध्ये एक एक हजार ४१ पुरुष र एक हजार आठ महिला रहेका छन् । भौगोलिक तथा जनसङ्ख्या संरचनालाई ध्यानमा राख्दै पूर्वाधार विकासका काम अघि बढाइएको वडाले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update