काठमाडौं । वैशाख १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पहाड’ले सबै उमेर समूहका दर्शकको मन जित्न थालेको निर्माण टिमले जनाएको छ। निर्देशक तुलसी घिमिरेका अनुसार फिल्मले बालबालिकादेखि वृद्धवृद्धासम्मका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
प्रदर्शनको पहिलो दिनमै निर्माण टिम काठमाडौं उपत्यकाका विभिन्न सिनेमा हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेको थियो। निर्देशक घिमिरेसँगै अभिनेता विपीन कार्की, अरुण क्षेत्री, अभिनेत्री रेनुनाथ योगी तथा डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले दिनभर हल–हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएका थिए।
करिब नौ वर्षपछि निर्देशनमा फर्किएका घिमिरेले ‘पहाड’प्रतिको दर्शक प्रतिक्रियाले आफू उत्साहित बनेको बताए। उनका अनुसार फिल्मले उठाएको विषयवस्तु दर्शकले आफ्नै कथा जस्तो महसुस गरेका छन्। “हामीले प्रस्तुत गर्न खोजेको सन्देश दर्शकसम्म पुगेको छ, धेरैले यसलाई आफ्नै भोगाइसँग जोड्नुभएको छ,” उनले भने।
हल भ्रमणका क्रममा विभिन्न पुस्ताका दर्शकसँग भेटघाट गर्न पाएको उल्लेख गर्दै उनले पारिवारिक रुपमा फिल्म हेर्न आएका दर्शक सन्तुष्ट भएर फर्किएको अनुभव सुनाए। “साना बालबालिकादेखि अग्रज पुस्तासम्म हलमा उपस्थित देख्दा खुसी लाग्यो, झन् सबैले फिल्म मन पराएको प्रतिक्रिया दिनु थप उत्साहजनक हो,” उनले थपे।
परिवारसहित हेर्न मिल्ने फिल्मका रूपमा ‘पहाड’ले दर्शकमाझ सकारात्मक माहोल बनाइरहेको निर्माण पक्षको दाबी छ।







