म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको महारानीथान नयाँ धार्मिक पर्यटकीय स्थलको रूपमा विकास भएको छ ।
केही वर्षअघिसम्म नगरपालिका र म्याग्दी जिल्लामा सिमित महारानीथानको महत्व प्रचारप्रसार, पूर्वाधार निर्माण र यातायातको सहजताको कारण राष्ट्रिय तथा अन्तरराष्ट्रियकरण भएको हो । पछिल्लो समय म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौँलगायत ठाउँबाट भक्तजनहरू पूजाआजाका लागि आउने क्रम बढेको महारानी क्षेत्र विकास कोषका कार्यालय सचिव मञ्जु केसी घिमिरले बताइन् ।
“यसअघि म्याग्दी र पर्वतको जलजलाबाट आउने भक्तजन धेरै थिए,” उनले भनिन्, “पछिल्लो समय देशभरका ठूला सहरहरूबाट भक्तजनहरू आउन थाल्नुभएको छ ।” नयाँ वर्षको अवसर पारेर मङ्गलबार महारानीमा पूजाआजाका लागि हालसम्मकै धेरै भक्तजन आएका छन् । बिहानैदेखि दिउँसोसम्म भक्तजनहरूको लाइन लागेको छ ।
भक्तजनको आगमन वृद्धिसँगै भेटी र चन्दा वापत्को आम्दानी बढेको महारानीथान क्षेत्र विकास कोषका सदस्य ललितबहादुर जिसीले बताए । एक वर्षअघि नयाँ कार्यसमिति गठन हुँदा घाटामा रहेको कोषको खातामा हाल रु १० लाख भन्दा बढी सङ्कलन भएको उनले बताए ।
साहित्यकार चन्द्रप्रकाश बानियाले लेखेको ‘महारानी’ उपन्यासले महारानीथानको ऐतिहासिक र धार्मिक महत्त्वको उजागर गरेको छ । ‘महारानी’ उपन्यासले विस २०७७ मा नेपालको प्रसिद्ध मदन पुरस्कार प्राप्त गरेको थियो । पूर्वसांसदसमेत रहेका बानियाँले लेखेको अर्को उपन्यास ‘तुलुराजा’ मा पनि महारानीथानको प्रशङ्ग उल्लेख छ । उपन्यासका साथै महारानीथानको विभिन्न माध्यमबाट प्रचारप्रसार हुन थालेपछि भक्तजनको आगमन बढेको कोषका सदस्य जिसीले बताए ।
उनका अनुसार महारानीमा गरेको भाकल पूरा भएका भक्तजनहरू मङ्गलबार र शनिबारका दिन बोकाको बली चढाउन आउछन् । भाकल पूरा गर्न परेवा पनि उडाउने गरिन्छ । नरिवाल र पुलप्रसाद चढाएर पनि पुजाआजा गर्ने चलन छ । शनिबार र मङ्गलबार बाहेकका दिनमा पनि नियमित पुजाआजा हुने गरेको छ ।
इतिहाँसविद् प्राडा. कर्णबहादुर बानियाका अनुसार विस १७४४ पौषमा आफ्ना पति भर्तिबमलाई तत्कालीन बाइसे चौबिसे ज्यामरुककोटे राजा मलेबलमे राजद्रोहको आरोप लगाएर कारबाही गर्ने भएपछि सो कारबाही रोक्न सकिन्छ कि भनेर ज्यामकोटबाट पर्वत राज्यको शीतकालिन राजधानी बेनी शहरमा आएकी रानी विश्वप्रभाले आफ्ना पतिको हत्या भइसकेको खबर पाएपछि कुरिलाखर्कमा गई रुखमा पासो लगाइएर आत्महत्या गरेकी थिइन् ।
त्यो दृश्य देख्न नसकेर उनको साथमा आएकी ‘बाहुनी’ पण्डीतकी श्रीमतीले पनि पासो लगाई प्राण विसर्जन गरेको इतिहासअनुसार यस गाउँलाई महारानी थान रहन गएको हो । मनोकाक्षा पूरा हुने विश्वासका कारण महारानीथानमा पूजाआजा र दर्शन गर्न आएका बेनीकी कल्पना बरुवालले बताइन् । बेनीका कृष्ण खत्री पनि महारानीथानप्रतिको आस्था र विश्वासका कारण नियमित पूजाआजाका लागि जाने गरेको बताइन् ।
बेनी नगरपालिकाले मुस्ताङ र मुक्तिनाथ जाने भक्तजनहरूको बसाई लम्बाउनका लागि महारानीनाथ, गलेश्वर, पुलाश्रमलगायत धार्मिक, तातोपानी कुण्ड, लभ्लीहिललगायत पर्यटकीय स्थलमा पूर्वाधार विकास र प्रवर्द्धनमा जोड दिएको छ । यस वर्ष नगरपालिकाले रु ८ लाख बिनियोजन गरेको बजेटमा महारानी क्षेत्र विकास कोषसँग साझेदारी गरेर थान परिसरमा स्लेट ढुङ्गा बिछ्याउने तयारी भएको नगर प्रमुख सुरत केसीले बताए । रासस







