नवलपरासी । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान वितरण गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७७/७८ देखि आव २०८१/८२ सम्म रु ४४ करोड ७१ लाख ७३ हजार ८५१ अनुदान वितरण गरेको जनाएको छ।
कार्यालयका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी विश्वास काफ्लेका अनुसार पाँच वर्षको अवधिमा जिल्लाका ९१५ जना किसानलाई अनुदान वितरण गरिएको छ। कार्यालयले किसानलाई कार्यक्रमअनुसार न्यूनतम रु ८७० देखि रु पाँच करोड ५० हजारसम्म अनुदान वितरण गरेको तथ्यांक काफ्लेले बताए।
हुप्सेकोट–१ को जुगेपानी तामाङ टोल कृषक समूहले बाली बिमाबापत रु पाँच करोड ५० हजार अनुदान प्राप्त गरेको काफ्लेको भनाइ छ।
काफ्लेका अनुसार कार्यक्रमअनुसार एउटै किसानले धेरै शीर्षकमा अनुदान प्राप्त गरेका छन्। कार्यालयले व्यावसायिक तरकारी खेती, फलफूल बगैँचा व्यवस्थापन तथा विस्तार, साना किसान कृषि फार्म स्थापना तथा विस्तार, मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन, उन्नत कृषि प्रविधि प्रदर्शन, बाँझो जग्गामा व्यावसायिक खेती प्रोत्साहन, खाद्यान्न बाली उत्पादन प्रवर्द्धन, साना सिँचाइ कार्यक्रम, चैते धान प्रवर्द्धन, बेमौसमी तरकारी खेती प्रवर्द्धन, तेलहन बाली प्रवर्द्धन, विशेष बाली प्रवर्द्धन, कृषि यन्त्र–उपकरण खरिदलगायत विभिन्न शीर्षकमा किसानलाई अनुदान उपलब्ध गराउँदै आएको काफ्लेले जानकारी दिए।
कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले कार्यालयबाट यस वर्ष लोकमार्ग/कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रम, आकस्मिक सेवा टेवा तथा राहत कार्यक्रम, बाली विशेष स्थलगत तालिम, खाद्यान्न बाली प्रवर्द्धन आयोजना, खाद्यान्न बाली उत्पादन प्रवर्द्धन कार्यक्रम, तरकारी बाली प्रवर्द्धन आयोजना तथा क्षेत्रफलका आधारमा तरकारी उत्पादन प्रवर्द्धन प्रोत्साहन कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए।
त्यसैगरी, फलफूल बाली विकास आयोजना, फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रम, फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रम, प्रविधि प्रवर्द्धन तथा सेवासम्बन्धी कार्यक्रम, कृषि तथ्यांक सङ्कलन तथा प्रकाशन, उन्नत कृषि प्रविधि प्रदर्शन कार्यक्रम, प्रयोगशाला सेवा तथा सञ्चालन, स्थानीय तहमा कृषि शिविर सञ्चालन, उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गर्ने, बीउ उत्पादन प्रवर्द्धन आयोजना, आत्मनिर्भरताका लागि बीउ उत्पादन प्रवर्द्धन कार्यक्रम, तालिम, गोष्ठी तथा कृषि तथ्यांकसम्बन्धी कार्यक्रमसहित विविध कार्यक्रम यस वर्ष सञ्चालन हुने सिलवालले बताए।
यस वर्ष कार्यालयबाट सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि रु पाँच करोड १७ लाख ९० हजार बजेट छुट्याइएको उनले बताए। कार्यालयले अधिकांश कार्यक्रमका लागि प्रस्ताव आह्वान गरी काम सुरु गरिसकेको र केही कार्यक्रम प्रक्रियामा रहेको जानकारी उनले दिए।







