Khabar Out
सम्पत्ति शुद्धिकरणबारे लागेका आरोप भ्रामक हुन : पूर्वप्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने विषयमा सार्वजनिक भएका विवरणहरू भ्रामक र झुटा रहेको बताएका छन् ।

देउवाले एक वक्तव्य जारी गर्दै सञ्चारमाध्यममार्फत उक्त जानकारी पाएको उल्लेख गर्दै सम्पत्तिसम्बन्धी विषयमा गलत प्रचारबाजी भइरहेको बताएका हुन् । उनले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गरिएको स्पष्ट पारे ।

उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताप्रति आफू सधैं प्रतिबद्ध रहँदै आएको पनि उल्लेख गरेका छन् । “मेरो जीवन एउटा खुला पुस्तक जस्तै हो,” देउवाको वक्तव्यमा भनिएको छ ।

देउवाले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आफूले विगतमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गरिएको स्मरण गराएका छन् ।

हाल स्वास्थ्य उपचारका लागि आफू विदेशमा रहेको र उपचार जारी रहेको जानकारी दिँदै उनले समयक्रमसँगै वास्तविकता सार्वजनिक हुने विश्वास व्यक्त गरेका छन् । साथै, अतिरञ्जित विवरणका आधारमा भ्रममा नपर्न सबैमा अपिल गरेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update