पर्वत । पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बीउका लागि गहुँखेती विस्तार गरिएको छ ।
जिल्लाको फलेवास नगरपालिका–६ देविस्थान चौबीस कुरियामा प्रजनन गहुँको मूल बीउको खेती गरी अनुसन्धान थालिएको छ । बीउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएको कृषि विकास कार्यालयले जनाएको छ ।
राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास कार्यालयको सहयोगमा स्थानीय जातसँगै थप आठ प्रजातिका गहुँमा अनुसन्धान गरिएको हो । आत्मनिर्भरताका लागि बीउ उत्पादन कार्यक्रमअन्तर्गत बीउ उत्पादनमा लागिएको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकृत सोविता सुवेदीले गौतम, भेरीगङ्गा, हिमगङ्गा, जिङ्कलगायतका जातमा अनुसन्धान भइरहेको जानकारी दिइन् ।
स्थानीय शक्ति कृषि तथा पशुपक्षी फर्ममार्फत २० जना किसानले एकै क्षेत्रमा प्रजनन गहुँको बीउ खेती गरिरहेका छन् । अन्य प्रजातिभन्दा गौतम, भेरीगङ्गा र हिमगङ्गा जातको गहुँको बीउ राम्रो उत्पादन भएको छ । अन्य खेतीभन्दा सजिलो र सिँचाइको पहुँच पुगेको कारण यस क्षेत्रका किसान हिउँदे बालीअन्तर्गत गहुँखेतीमा लागेका छन् ।
गत वर्ष पनि राम्रो उत्पादन भएपछि पहाडी क्षेत्रको जात पहिचानका लागि राष्ट्रिय गहुँबाली अनुसन्धान परिषद् भैरहवाले विभिन्न आठ जातमा गरेको अनुसन्धान सफल भएपछि अहिले हावापानी अनुकूल हुने जातको प्रजनन बीउ खेती गरिएको स्थानीय किसान रमेश चापागाईंले बताए ।
कृषक चापागाईंले कृषि प्राविधिक नै आफ्नै खेतवारीमा आएर गहुँको अनुसन्धान गर्दा कृषकलाई आगामी दिनमा गहुँखेती गर्न सहज हुने बताए । कुन भूगोलमा कुन खेती गर्दा राम्रो उत्पादन र आम्दानी गर्न सकिन्छ भन्ने चेतना वृद्धि भएको उनको भनाइ छ ।
बर्सेनि तापक्रम वृद्धि, जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुनु, सिँचाइको अभावजस्ता समस्याले कृषकको गहुँखेतीतर्फको आकर्षण घट्दै गएको अवस्थामा केन्द्रले निश्चित प्रजाति पहिचान गरी सिफारिस गरेपछि आकर्षण बढ्ने उनको भनाइ छ । गत वर्ष गहुँका विभिन्न आठ प्रजनन बीउमा अनुसन्धान गरिएकामा अहिलेसम्म चार जात सिफारिसका लागि छनोट भएको उनले बताए ।
अनुसन्धानपछि एनएल ११७९, एनएल १४८८, एनएल १४८६ र एनएल १४५० नामका गहुँका जात खेतीका लागि सिफारिस गर्ने तयारी गरिएको छ । यी प्रजाति समुद्री सतहदेखि ८०० मिटर उचाइसम्म राम्रो उत्पादन हुने जनाइएको छ ।







