काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
यसअघि अदालतले जारी गरेको कारण देखाऊ आदेशअनुसार विपक्षी पक्षबाट लिखित जवाफ पेश भइसकेको जनाइएको छ । सोही आधारमा आजको पेशीमा रिटमाथि थप बहस हुने छ ।
सरकारले गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलनका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि चैत १४ गते प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो ।
पक्राउपछि ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गर्दै थुनामा राखिएको प्रक्रिया गैरकानुनी भएको दाबी गरेकी छन् ।
त्यस्तै, लेखकलाई पनि अविलम्ब थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी यशोदाले छुट्टै रिट निवेदन सर्वोच्चमा पेश गरेकी छन् ।







