नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस) का बिरामी फेला परेका छन् । अस्पतालमा सञ्चालन भइरहेको सिफलिससम्बन्धी अनुसन्धानका क्रममा ती बिरामी फेला परेका हुन् ।
अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा बद्री चापागाइँका अनुसार फेला परेका बिरामीमध्ये केहीलाई तत्काल उपचार आवश्यक रहेको छ । केही बिरामीले यसअघि उपचार गराइसकेका छन् । बिरामी मुख्यतः २० देखि ४० वर्ष उमेर समूहका रहेका छन् ।
“सिफलिसका बिरामी दैनिक रुपमा बढ्दै गएको पाइएको छ,” डा चापागाइँले भने । उनका अनुसार जन्मजात सङ्क्रमण भएका शिशुदेखि ६५ वर्षसम्मका व्यक्तिमा समेत सिफलिस सङ्क्रमण पुष्टि भएको पाइएको छ । केही अवस्थामा आमाबाट बच्चामा सङ्क्रमण सरेको समेत भेटिएको छ ।
भेरी अस्पतालले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन छाला तथा यौन रोग विभागअन्तर्गत ‘भेनस कर्नर’ स्थापना गरेको थियो । ‘भेनस कर्नर’ मा सिफलिससम्बन्धी परामर्श, परीक्षण तथा उपचार सेवा सुरक्षित, गोप्य र व्यवस्थित रूपमा निःशुल्क उपलब्ध गराइएको छ ।
डा चापागाइँले सिफलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग तथा नीतिगत कमजोरीसँग जोडिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको उल्लेख गरे । अस्पतालमा गरिएको सो अनुसन्धानले उपचार प्रक्रियामा देखिएका चुनौती, स्वास्थ्यकर्मीमा रहेको भ्रम तथा बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।
अस्पतालका अनुसार यौनाङ्गमा घाउ भएका १० भन्दा बढी बिरामी ‘रेकर्ड’मा समावेश छन् भने करिब ३० प्रतिशत बिरामी पुरानो सङ्क्रमण निको भए–नभएको जाँच गर्न अस्पताल पुगेका हुन् । भेरी अस्पतालमा सन् २०२६ जनवरीदेखि सुरु भएको सिफलिससम्बन्धी अनुसन्धान यस वर्षको डिसेम्बर अन्तिमसम्म जारी रहने अस्पतालले जनाएको छ । रासस







