Khabar Out
आजदेखि एसईई सुरु : ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतझैँ तोकिएका परीक्षा केन्द्रहरूबाट बिहान ८ बजेदेखि परीक्षा सञ्चालन गरेको हो ।

यस वर्षको एसईईमा कुल पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका छन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी रहेका छन् । सहभागीमध्ये दुई लाख ५७ हजार ६१३ जना छात्रा छन् । पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन गरिएको छ ।

परीक्षा व्यवस्थापनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी तथा सुरक्षाकर्मीसहित करिब ७३ हजार जनशक्ति परिचालन गरिएको छ । परीक्षा मर्यादित बनाउन परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

यस वर्ष नतिजा प्रकाशन प्रक्रियालाई छिटो र पारदर्शी बनाउन विशेष व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण सुरु गरिनेछ र एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।

उत्तरपुस्तिका परीक्षणका लागि परीक्षक तथा सम्परीक्षकलाई परीक्षण केन्द्रमै बसेर काम गर्न निर्देशन दिइएको छ । साथै, परीक्षण प्रक्रियालाई सुरक्षित र व्यवस्थित बनाउन सम्भव भएसम्म सीसीटीभी जडान गरी निगरानीसहित परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update