Khabar Out
भोलिदेखि एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका सबै तयारी पूरा भएको जनाएको छ । बोर्डका अनुसार बिहीबारदेखि सुरु हुने परीक्षाका लागि देशभरका ७७ वटै जिल्लाबाट आवश्यक तयारी सम्पन्न भएको जानकारी आएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित केन्द्रमा पुगिसकेका छन् भने केन्द्राध्यक्ष, कर्मचारी र सुरक्षाकर्मीसमेत खटाइसकिएको छ । “सबै तयारी पूरा भइसकेको छ, भोलिदेखि परीक्षा सहज रूपमा सञ्चालन हुन्छ,” उनले बताए ।

यस वर्ष एसईईका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएको छ, जसमा एक केन्द्र जापानमा पनि रहेको छ । बोर्डका अनुसार कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । तीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य रहेका छन् । जापानस्थित एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले परीक्षा दिनेछन् ।

परीक्षा पहिलो दिन अंग्रेजी विषयबाट सुरु हुनेछ । यसपटक उत्तरपुस्तिका परीक्षण पनि सम्बन्धित परीक्षा केन्द्रमै गर्ने तयारी गरिएको बोर्डले जनाएको छ । केन्द्राध्यक्षको निगरानीमा शिक्षकहरूले उत्तरपुस्तिका जाँच गर्ने व्यवस्था मिलाइएको छ ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको बताए । “विद्यार्थीलाई लामो समय कुर्न नपरोस् भनेर छिटो नतिजा ल्याउने तयारी गरिएको हो,” उनले भने ।

यसअघि उत्तरपुस्तिका परीक्षणका लागि एक प्रदेशको कपी अर्को प्रदेशमा पठाउने अभ्यास भए पनि यसपटक त्यसलाई परिवर्तन गरिएको छ । शिक्षक अभाव वा असुरक्षाको अवस्था देखिएमा भने सम्बन्धित निकायले अन्य स्थानमा परीक्षण गर्ने व्यवस्था मिलाउने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update