Khabar Out
‘अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रदेश, स्थानीय सरकारसँग छलफल’

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयद्वारा आगामी वैशाख ११ देखि १३ गतेसम्म आयोजना हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलन २०२६ लाई सफल बनाउन प्रदेश सरकार तथा स्थानीय सरकारसँग सहकार्यका लागि छलफल गरिएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन समितिका संयोजक एवं अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा.यदुप्रसाद ज्ञवालीको नेतृत्वमा गएको विश्वविद्यालय टोलीले कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह र वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख मोहनमाया ढकालसँग मन्त्रालय तथा नगरपालिका कार्यालयमै पुगेर छुट्टाछुट्टै छलफल गरेको हो ।

छलफलमा विश्वविद्यालयका तर्फबाट संयोजक डा.ज्ञवालीसहित सदस्यसचिव डा.विष्णुकुमार खड्का, सदस्यद्वय डा.लक्ष्मीप्रसाद आचार्य र डा.पुष्पराज आचार्य तथा सम्मेलन व्यवस्थापन समितिका सल्लाहकार प्राडा पूर्णमान श्रेष्ठको पनि उपस्थिति थियो ।

बैठकमा सम्मेलनलाई प्रभावकारी र भव्य रूपमा सम्पन्न गर्न आवश्यक सहकार्यका विविध पक्षमा केन्द्रित रही गहन छलफल गरिएको थियो । संयोजक डा. ज्ञवालीले सम्मेलनको गरिमा, विश्वविद्यालयमात्र नभई यस क्षेत्रको समग्र सामाजिक, आर्थिक तथा पर्यटकीय विकासमा पार्ने सकारात्मक प्रभाव र अन्तर्राष्ट्रिय समुदायमा जाने सन्देशबारे प्रकाश पार्दै दुवै तहका सरकारसँग सहकार्यका लागि विशेष अपिल गरे ।

विश्वविद्यालय टोलीले प्रस्तुत गरेको सहकार्य प्रस्तावप्रति मन्त्री शाह र नगरप्रमुख ढकालले सकारात्मक प्रतिक्रिया जनाउँदै यसअघि पनि सहकार्य हुँदै आएको उल्लेख गर्दै यस शैक्षिक मेलामा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैबिच विश्वविद्यालय टोलीले सेभ द चिल्ड्रेनका कर्णाली प्रदेश प्रतिनिधि बालमुकुन्द महतसँग भेट गरी सम्मेलनका लागि सहकार्यको प्रस्ताव पेस गरेको छ ।  

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update