काठमाडौं । संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले आज सर्वदलीय बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने तय गरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन बोलाइएपछि पहिलो प्रतिनिधिसभा बैठकका एजेन्डाबारे छलफल गर्न सर्वदलीय बैठक आयोजना गरिएको हो । बिहीबार (चैत १९) दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्ने कार्यतालिका छ ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरू सहभागी हुनेछन् । उनीहरूबीच संसद् सञ्चालन, कार्यसूची निर्धारण तथा सभामुख चयनलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
यसैबीच, सभामुख चयन नभएसम्म प्रतिनिधिसभाको बैठक ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने व्यवस्था छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले यसअघि चैत १२ गते सांसदहरूलाई शपथ ग्रहण गराइसकेका छन् ।







