काठमाडौँ । राष्ट्रिय औषधि प्रयोगशालाले अन्तरराष्ट्रिय प्रमाणीकरण ‘आईएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आईएसओ १७०२५ः२०१७ प्रमाणपत्र प्राप्त गरेको हो ।
स्थापनाको ६० वर्षपछि नेपालको एक मात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशाला ‘आईएसओ एक्रिडिटेसन सर्टिफाइड’ भएको हो । राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले प्रयोगशाला अब अन्तरराष्ट्रिय मापदण्डको सरकारी औषधि प्रयोगशालामा परिणत भएको र यसले औषधिको गुणस्तर सुनिश्चितताका लागि थप विश्वसनीयता आर्जन गर्ने बताए ।
उनले भने, “प्रयोगशालाको सिङ्गो टोलीको तीन वर्षको अथक मेहनतका कारण प्रयोगशालाले आईएसओ सर्टिफिकेट पाएको हो । सर्टिफिकेट प्राप्त गर्नका लागि व्यवस्थापन र गुणस्तरीयतामा विशेष काम गरेका छौँ ।”
नेपालमा उत्पादन हुने र विदेशबाट आयात हुने औषधिको परीक्षण र विश्लेषण, गुणस्तर नियन्त्रण तथा व्यवस्थापन र गुणस्तर तथा विधि पुष्टि गर्ने काम प्रयोगशालाले गर्दै आएको छ । औषधि व्यवस्था विभागबाट प्राप्त नमूनाहरू, निजी क्षेत्रका औषधि उद्योग, विभिन्न निकाय र संस्थाबाट प्राप्त नमूना र अन्य औषधि परीक्षण गर्ने तथा निजी प्रयोगशालाको गुणस्तर जाँच गर्ने काम प्रयोगशालाले गर्दै आएको छ ।
त्यसैगरी, प्रयोगशालाले नियमनको लेखापरीक्षण गर्ने, स्वदेशमा उत्पादित, वितरित एवं विदेशबाट आयात हुने औषधिको गुणस्तर परीक्षण र विश्लेषण गर्ने, विश्लेषण विधि पुष्टि गर्ने, सरकारी निकायबाट प्राप्त खोपको प्रमाणीकरण गर्ने र कुशल प्रयोगशाला अभ्यासहरूको निरीक्षण तथा लेखापरीक्षण गर्दै आएको छ ।
औषधि ऐन, २०३५ को दफा ६ बमोजिम स्थापना भएको नेपाल औषधि अनुसन्धानशाला, औषधिको वैज्ञानिक अनुसन्धान, परीक्षण र विश्लेषण गर्ने सरकारको प्रमुख अङ्गका रूपमा रहेको छ ।







