महोत्तरी । सदरमुकाम जलेश्वर नगरपालिका–१ मा किराना पसल सञ्चालन गर्दै आएका सरोज साह चार वर्षअघि आफ्नै जिल्लाको मूल भन्सार कार्यालयमा सुक्खा बन्दरगाह निर्माण हुने भएपछि हौसिएका थिए ।
ठूलो परिमाणमा भारत तथा तेस्रो मुलुकसँग व्यापार व्यवसाय गर्नका लागि आवश्यक सुविधा तथा व्यवस्था सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी आफ्नै जिल्लाको मूल भन्सारमा उपलब्ध हुने भन्दै उनी खुसी थिए । तर अहिलेसम्म पनि सो कार्यको सुरुआत नहुँदा साह निराश छन् ।
जलेश्वर–३ स्थित मलिवाडामा चार वर्षअघि नै सुक्खा बन्दरगाह निर्माण हुने भनिएको थियो । तर अझै सो कार्यको सुरुआत भएको छैन । नेपालको उत्तरी तथा दक्षिणी दुवै छिमेकी राष्ट्रबाट हुने अन्तरदेशीय तथा तेस्रो मुलुकबाट हुने व्यापारका लागि जलेश्वर–३ मलिवाडास्थित मुख्य भन्सार नाकामा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण प्रक्रिया सुरु हुन सकेको छैन।
आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको नीति तथा कार्यक्रममा सन् २०२७ सम्म योजना सम्पन्न गर्ने लक्ष्यसहित जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह सञ्चालन गर्ने योजना ल्याइएको थियो । तर त्यस निर्माण कार्यको प्रक्रिया अझै अघि बढ्न नसक्दा महोत्तरीसहित यस भन्सारबाट नजिक रहेका अन्य जिल्लाका व्यवसायी पनि दुःखी एवं निराश भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताए ।
उनका अनुसार छिमेकी राष्ट्र भारतको बिहार राज्यको सीतामढी जिल्लाको भिठ्ठामोड सहरमा भारतीय पक्षले जग्गा अधिग्रहण गरी पर्खाल र केही भौतिक संरचना पनि निर्माण गरिसकेको छ । तर नेपालतिर अहिले पनि सो निर्माण प्रक्रिया सर्वेक्षणमै सीमित रहेकोप्रति चिन्ता व्यक्त गरे ।
जलेश्वर भन्सार नाकामा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण अलपत्र परेको विषय महोत्तरीमा प्रत्येक निर्वाचनको बेला सबै उम्मेदवारको साझा मुद्दा बन्ने गरेको छ । जलेश्वर–३ मलिवाडामा सुक्खा बन्दरगाह निर्माणका लागि ६५ बिघा जग्गा उपलब्ध गराउने प्रयास भएको छ । यसका लागि इन्टर मोडेल यातायात विकास समितिले गत साउनमै तयार पारेको सर्वे रिपोर्ट उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको बताइएको छ ।
जलेश्वर भन्सार महोत्तरी र धनुषाको प्रमुख नाका भएकाले व्यापारीले तेस्रो मुलुकसँगको व्यापार पनि यसै भन्सारबाट हुनुपर्ने माग गर्दै आएका छन् । भारतको राजधानी नयाँदिल्ली र व्यापारिक सहर कोलकाता यहाँबाट नजिक भएकाले जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह निर्माण आवश्यक छ । जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएपछि भारतसहित तेस्रो मुलुकसँगको आयात सहज हुने र यसै बन्दरगाहबाट यस क्षेत्र तथा पायक क्षेत्रको उत्पादन निर्यात गर्न पनि सरल एवं सहज हुने व्यापारी बताउँछन् । रासस






