Khabar Out
ओली र लेखकको गिरफ्तारीविरुद्ध दायर रिटमा आज सर्वोच्चमा सुनुवाइ हुदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकको गिरफ्तारीविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले आइतबार (चैत १५) सर्वोच्च अदालतमा रिट दायर गर्दै उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गरेकी छन् । रिटमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नभई पक्राउ गरिएको कार्य पूर्वाग्रही र गैरकानुनी रहेको उल्लेख छ ।

यसैगरी, नेपाली कांग्रेसका नेता रमेश लेखकका तर्फबाट उनकी पत्नी यशोदाले पनि सर्वोच्च अदालतमा रिट दायर गर्दै थुनामुक्त गर्न माग गरेकी छन् । रिटमा लेखकलाई २४ घण्टाभित्र अदालतसमक्ष उपस्थित गराई थुनामुक्त गर्न आदेश जारी गर्न माग गरिएको छ ।

कार्की आयोगको प्रतिवेदनका आधारमा प्रहरीले शनिबार (चैत १४) भक्तपुरस्थित निवासबाट ओली र लेखकलाई पक्राउ गरेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरूलाई पाँच/पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update